बारा, ०७ साउन । स्वदेशमा समयमै रासायनिक मल नपाएपछि सीमावर्ती भारतीय बजारबाट मल खरिद गरेर फर्किने क्रममा पक्राउ परी भारतीय जेलमा परेका दुई नेपाली किसानको अविलम्ब रिहाइका लागि कूटनीतिक तथा कानुनी पहल गर्न नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
सर्लाहीको बलराका कृषक सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह आफ्नो खेतका लागि सीमावर्ती भारतीय बजार सोनबरसाबाट २ बोरा युरिया र डीएपी मल खरिद गरी ल्याउने क्रममा पक्राउ परेका थिए। उनीहरू विगत २० दिनदेखि बिहार, सीतामढी, डुमरास्थित भारतीय जेलमा राखिएका छन्। यस विषयमा नेपाली कांग्रेसले पीडित परिवार र स्थानीय समुदायसँग जानकारी लिएर वास्तविकता बुझ्ने प्रयास गरेको कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन्।
किसानले आफ्नो खेतमा प्रयोग गर्नका लागि मल ल्याउँदा भोगेको सास्ती र त्यसपछिको परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेसले २० दिन बितिसक्दा पनि सरकारका तर्फबाट तदारुकताका साथ पहलकदमी हुन नसक्नु दुःखद भएको बताएको छ। कांग्रेसले व्यावहारिक, कूटनीतिक र कानुनी प्रक्रियामार्फत् तत्काल पहल गरी उनीहरूको रिहाइ र समस्या समाधान गर्न सरकारसँग जोडदार माग गरेको छ।
साथै, नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा, पारस्परिक विश्वास र दुई देशका नागरिकबीचको आत्मीय सम्बन्धलाई ध्यानमा राखी केवल आफ्नो खेतीका लागि मल खरिद गर्दा पक्राउ परेका किसानलाई तत्काल छाड्न कांग्रेसले भारत सरकारसँग पनि आग्रह गरेको छ।
दुवै देशका सरकारले नेपाल-भारत सम्बन्ध केवल दुई सरकारबीच मात्र नभई जनस्तरको सामाजिक सम्बन्धमा आधारित रहेको यथार्थलाई आत्मसात् गर्दै यो संवेदनशील विषयलाई सोही दृष्टिकोणबाट समाधान गर्नुपर्ने कांग्रेसको ठहर छ।




