जीतपुर,१५ कार्तिक । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सम्झौता सम्पन्न गरेपनि तोकिएको समयमा काम सुरु नगर्ने सात ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।
उपमहानगरपालिकाले ती कम्पनीहरूलाई सात दिनभित्र संशोधित कार्य–तालिका पेश गरी सोही अनुसार काम प्रारम्भ गर्न निर्देशन दिएको हो। उपमहानगरपालिकाका पुर्बधार बिकास शाखा प्रमुख ईन्जिनियर अभयकान्त झाका अनुसार पटक–पटक सम्झाइ–बुझाइ गर्दा पनि ठेकेदारहरूले तोकिएको समयसीमाभित्र काम अगाडि बढाउन असफल भएपछि कानूनी प्रावधानअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो।
तोकिएको म्यादभित्र पनि काम सुरु नगरे सार्वजनिक खरीद ऐन तथा नियमावली अनुसार जरिवाना, धरौटी जफत लगायतका कडा कदम चालिने चेतावनी दिइएको छ। उपमहानगरपालिकाले जानकारी दिए अनुसार, एन.के.कन्स्ट्रक्स प्रा.लि, पर्सा ले वडा नं. ७ मा निर्माणाधीन फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको भवन निर्माणमा प्रगति नदेखाएपछि कारबाहीको दायरामा परेको हो।
त्यसैगरी, डि.एण्ड डि.कन्स्ट्रक्सन बारा ले वडा नं. ५ र ७ जोड्ने २०० सैया अस्पताल अगाडिको कल्भर्ट निर्माण कार्य सुरु नगरेको पाइएको छ। त्यस्तै, धिरज निर्माण सेवा, रौतहट ले वडा नं. १० को बलुवा–बेहरा सडक कालोपत्रे कार्य सुरु नगरेको, श्री बजरङ्ग कन्स्ट्रक्स, बारा ले वडा नं. २४ मा पर्खाल निर्माणमा ढिलाइ गरेको, र जसौली निर्माण सेवा, पर्सा ले इनर्वासिरा (वडा नं. १९) मा ट्र्याक खोल्ने तथा ढलान कार्य स्थगित राखेको उपमहानगरपालिकाले जनाएको छ।
यस्तै, मकवानपुर कन्स्ट्रक्सन प्रा.लि. ले बजनी वडा कार्यालयतर्फ जाने सडक कालोपत्रे कार्य (वडा नं. ३) सुरु नगरेको र जय शम्भु भोलेनाथ कन्स्ट्रक्सन, मकवानपुर ले वडा नं. २२ मा चकरी जाने बाटो कालोपत्रे कार्यमा लापरबाही गरेको पाइएको छ। उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले जनताको करबाट सञ्चालित विकास योजनामा ढिलासुस्ती र लापरबाही सह्य नहुने स्पष्ट चेतावनी दिएका छन्।
उनका अनुसार, “सम्झौतामा हस्ताक्षर गरेर पनि काम नगर्ने ठेकेदार कम्पनीहरूले नगरको विकास अवरुद्ध पारिरहेका छन्। अब यस्ता कम्पनीलाई कुनै प्रकारको छुट दिइने छैन।” उपमहानगरपालिकाले आगामी दिनमा पनि विकास कार्यमा ढिलाइ गर्ने ठेकेदार कम्पनीहरूको विवरण सार्वजनिक गर्दै आवश्यक कानूनी कारबाही निरन्तर गरिने जनाएको छ।

















