कलैया, ०९ मंसिर। भारत र श्रीलंकामा आगामी फेब्रुअरी महिनादेखि सुरु हुने आईसीसी पुरुष टि-२० विश्वकपको खेल तालिका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको छ।
आईसीसीले २० वटा टिमको लागि ४ वटा समुह विभाजन गरेको छ भने समुह ‘सी’ मा नेपाल संगै इंग्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र ईटाली रहेको छ। समुह ‘ए’ मा आयोजक भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्याण्ड रहेको छ।
यस्तै समुह ‘बी’ मा अष्ट्रेलिया, दोस्रो आयोजक श्रीलंका, जिम्बाब्वे, आयरल्याण्ड र ओमान रहेको छ भने समुह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, युएई र क्यानाडा रहेको छ।
उद्घाटन खेल पाकिस्तान र नेदरल्याण्ड विरुद्ध श्रीलंकाको कोलम्बोमा फेब्रुअरी ७ तारिख आईतबारको दिन हुने छ भने फाइनल खेल मार्च ८ तारिख आईतबारको दिन भारतको नरेन्द्र मोदी क्रिकेट स्टेडियम र श्रीलंकाको कोलम्बोमा हुने छ।
भारत र पाकिस्तान विचको द्वन्द्वको कारण आईसीसीले फाईनलको लागि दुई वटा भेन्यू छनोट गरेको छ। पाकिस्तान फाईनलमा पुगेपछि फाईनल खेल कोलम्बोमा हुने छ भने पाकिस्तान बाहेक अरु टिम फाइनलमा पुगे फाईनल खेल भारतमा हुने छ।
नेपालले आफ्नो ४ वटै खेल भने मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा खेल्ने छ। नेपालको समुह चरणको पहिलो खेल इंग्ल्याण्ड विरुद्ध माघ २५ गते आईतबार (फेब्रुअरी ८), ईटाली विरुद्ध माघ २९ गते बिहीबार ( फेब्रुअरी १२), वेस्ट इन्डिज विरुद्ध फाल्गुन ०३ गते आईतबार ( फेब्रुअरी १५) र बंगलादेश विरुद्ध फाल्गुन ०५ गते मंगलबार ( फेब्रुअरी १७) का दिन मुम्बईमा हुने छ।
विश्वकपको सबै खेल भारतको दिल्ली, कोलकाता, चेन्नई, अहमदाबाद र गुजरात तथा श्रीलंकाको क्यान्डी र कोलम्बोमा हुने छ।

















