Friday, June 5, 2026

सेयर सदस्यबाहेकसँग कारोबार नगर्न जीतपुरसिमरा उपमहानगरपालिकाको कडा निर्देशन

spot_img

बारा,०३ पुष । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सहकारी संस्थालाई सहकारीमा आबद्ध सेयर सदस्यबाहेक अन्य कुनै पनि व्यक्तिसँग बचत तथा ऋण कारोबार नगर्न कडा निर्देशन दिएको छ।

नगर कार्यपालिकाको कार्यालयले जारी गरेको पत्रमा सहकारी संस्थाहरूले गैर–सदस्य व्यक्तिसँग समेत कारोबार गरिरहेको गुनासो प्राप्त भएपछि यस्तो निर्देशन गरिएको उल्लेख छ। सहकारीको मूल सिद्धान्त, सहकारी ऐन २०७४ तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी मापदण्डअनुसार सहकारी संस्थाले आफ्ना सेयर सदस्यसँग मात्र वित्तीय कारोबार गर्न पाउने व्यवस्था रहेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ।

सहकारी शाखा प्रमुख अधिकृत दुर्गा न्याैपानेले जारी गर्नु भएकाे पत्रमा सदस्यबाहेकका व्यक्तिबाट विभिन्न नाम, कोड वा योजनाका नाममा बचत संकलन गर्ने, ऋण लगानी गर्ने वा अन्य वित्तीय कारोबार गर्नु कानुनविपरीत भएको स्पष्ट गरिएको छ। यस्तो गतिविधिले सहकारी क्षेत्रमा जोखिम बढ्ने तथा सर्वसाधारणको बचत असुरक्षित बन्न सक्ने भएकाले तुरुन्त रोक लगाउन निर्देशन दिइएको हो।

उपमहानगरपालिकाले हाल गैर–सदस्यसँग भइरहेको बचत तथा ऋण कारोबार तत्काल बन्द गरी सहकारी ऐन, नियमावली र प्राधिकरणका निर्देशनअनुसार मात्र कारोबार सञ्चालन गर्न आग्रह गरेको छ। निर्देशन कार्यान्वयन नगर्ने सहकारी संस्थामाथि कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ। नगरपालिकाले सहकारी क्षेत्रलाई पारदर्शी, सुरक्षित र विश्वासयोग्य बनाउन सबै सहकारी संस्थालाई नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर