Sunday, July 19, 2026

बालशिक्षामा नैतिक र व्यवहारिक शिक्षाको अपरिहार्यता

सुनील कुशवाहा/ कलैया, ०७ पौष। आजको समाजमा हामी प्रविधि, सूचना र भौतिक विकासमा तीव्र गतिले अघि बढिरहेका छौँ । तर यसै गतिमा हाम्रो भविष्य। आजका बालबालिकाहरू। कहाँ उभिएका छन् भन्ने प्रश्न झनै गम्भीर बन्दै गएको छ । किताबी शिक्षा, अंक र प्रतिस्पर्धामा मात्र सीमित बालशिक्षाले अब समाजलाई सही दिशा दिन सक्दैन । अहिलेका बालबालिकाहरूलाई नैतिक, आध्यात्मिक तथा व्यवहारिक शिक्षाको अत्यन्तै खाँचो देखिएको छ ।

नैतिक शिक्षा बिना बालबालिकामा सही–गलत छुट्याउने क्षमता कमजोर हुँदै गएको छ । अनुशासन, इमान्दारिता, सहानुभूति, जिम्मेवारीजस्ता मूल्यहरू हराउँदै जाँदा समाज असंवेदनशील बन्दै गएको छ । त्यस्तै, आध्यात्मिक शिक्षाको अभावले बालमन अशान्त, आक्रोशित र दिशाहीन बन्न थालेको यथार्थ हामीले दैनिक देखिरहेका छौँ । आन्तरिक शान्ति, आत्मसंयम र जीवनको उद्देश्यबोध बिना शिक्षा अधुरो हुन्छ ।

त्यसैगरी, व्यवहारिक शिक्षा नहुँदा बालबालिका जीवनका वास्तविक चुनौती सामना गर्न असमर्थ भइरहेका छन् । जीवनोपयोगी सीप, सामाजिक व्यवहार, श्रमको सम्मान र आत्मनिर्भरता सिकाउन नसक्दा पढेलेखेका युवा पनि निर्णयहीन र परनिर्भर बन्ने अवस्था आएको छ ।

यदि हामीले आज बालबालिकालाई नैतिकता, आध्यात्मिकता र व्यवहारिक शिक्षाबाट वञ्चित गर्यौँ भने भोलिको समाज अझै खोक्रो, हिंस्रक र असन्तुलित हुनेछ । त्यसैले अब शिक्षा प्रणाली, अभिभावक र समाज सबैले आत्मसमीक्षा गर्न जरुरी छ । भविष्य सुरक्षित गर्न हो भने बालशिक्षाको आधार नै परिवर्तन गर्नुपर्छ। जहाँ ज्ञानसँगै संस्कार, सीपसँगै संवेदना र सफलतासँगै मानवीयता सिकाइयोस् ।

बालबालिका केवल भोलिका नागरिक होइनन्, आजका हाम्रो ऐना हुन् । त्यो ऐनामा देखिने प्रतिबिम्ब सुन्दर बनाउन आजैबाट सही शिक्षा दिनु हाम्रो सामूहिक जिम्मेवारी हो ।

(लेखक सुनील कुशवाहा समाजिक अभियन्ता हुनुहुन्छ भने उनले समसामयिक विषयमा कलम चलाउनु हुन्छ।)

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर