Sunday, July 19, 2026

तराई–मधेसमा बढ्दो धार्मिक द्वन्द: मूल समस्याबाट ध्यान हटाउने खतरनाक राजनीति

सुनील कुशवाहा/ कलैया, २१ पौष। तराई–मधेसको सामाजिक संरचना सदियौंदेखि सहिष्णुता, सहअस्तित्व र आपसी सद्भावमा आधारित रहँदै आएको छ। हिन्दु–मुस्लिम समुदायबीच धार्मिक आस्था फरक भए पनि सामाजिक जीवन, संस्कार र दुःख–सुख साझा थियो। तर पछिल्ला वर्षहरूमा यहाँ बर्सेनि दोहोरिने धार्मिक द्वन्द ले समाजलाई क्रमशः अस्थिरतातर्फ धकेल्दै लगेको छ। आज यो केवल सानो झडपमा सीमित छैन, सम्पूर्ण समाजलाई गाँज्ने सामाजिक द्वन्द को रूपमा विकसित हुँदैछ।

सबैभन्दा चिन्ताजनक पक्ष भनेको यस द्वन्दको सिधा असर युवापुस्तामा पर्नु हो। बेरोजगारी, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा जस्ता जीवनसँग जोडिएका गम्भीर समस्याले थिचिएका मधेसका युवाहरू मानसिक तनाव, निराशा र आक्रोशमा बाँचिरहेका छन्। तर यिनै युवालाई धर्मको नाममा विभाजित गरिँदै छ, एकअर्काको विरोधमा उभ्याइँदै छ।

मधेस प्रदेशका वास्तविक समस्या के हुन् भन्ने कुरा सबैलाई थाहा छ।

-रोजगारीको अभाव

-शिक्षाको गुणस्तरमा गम्भीर गिरावट

-स्वास्थ्य सेवा पहुँच बाहिर

-व्यापक गरिबी र पलायन

तर दुर्भाग्यवश, राजनीतिक दलहरूले यी समस्याको समाधान खोज्नुको सट्टा धार्मिक द्वन्दलाई नै प्राथमिकता दिँदै आएका छन्। किनकि धार्मिक उन्माद सजिलो हतियार हो।जनताको ध्यान मूल मुद्दाबाट हटाउन, असफलता ढाकछोप गर्न र सस्तो लोकप्रियता बटुल्न।

धर्म स्वयं समस्या होइन। समस्या तब बन्छ जब धर्मलाई राजनीति गर्ने औजार बनाइन्छ। जब मन्दिर–मस्जिदको विवादले विद्यालय, अस्पताल र उद्योगको आवश्यकता ओझेलमा पर्छ; जब युवाको भविष्यभन्दा धार्मिक नारा ठूलो ठानिन्छ त्यसले समाजलाई प्रगतितर्फ होइन, विनाशतर्फ लैजान्छ।

आज आवश्यकता छ। सबै धर्मका युवापुस्ताले गम्भीर आत्ममन्थन गर्ने। हामी किन लडिरहेका छौं ? हाम्रो दुश्मन को हो ? हाम्रो भविष्य कहाँ हराइरहेको छ ?

हिन्दु होस् वा मुस्लिम, मधेसका युवाको पीडा एउटै छ। बेरोजगारी, अवसरको अभाव र उपेक्षा। त्यसैले समाधान पनि एकतामा छ, विभाजनमा होइन। धर्मका नाममा उक्साइने हरेक द्वन्द अन्ततः गरिब, युवा र आम जनताकै घाटामा जान्छ भन्ने यथार्थ बुझ्न अब ढिला गर्नु हुँदैन।राजनीतिक दलहरूलाई स्पष्ट सन्देश दिन जरुरी छ।

हामीलाई धार्मिक द्वन्द होइन, रोजगारी चाहिन्छ।

हामीलाई घृणा होइन, शिक्षा चाहिन्छ।

हामीलाई उन्माद होइन, स्वास्थ्य र विकास चाहिन्छ।

यदि आज युवापुस्ता सचेत भएन भने, भोलि यही धार्मिक द्वन्द हाम्रो समाजको स्थायी पहिचान बन्ने खतरा छ। मधेसलाई द्वन्दको थलो होइन, सद्भाव, विकास र सम्भावनाको केन्द्र बनाउने जिम्मेवारी आजको युवापुस्ताकै काँधमा छ।

लेखक: सुनील कुशवाहा समाजिक अभियन्ता हुनुहुन्छ भने उहाँ बेला बेलामा राजनीतिक तथा सामाजिक समस्याको बारेमा कलम चलाउनु हुन्छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर