Sunday, July 19, 2026

युवालाई धर्ममा अल्झाउने असफल राजनीति

सुनील कुशवाहा/ कलैया, २२ पौष। आजको युवापुस्ताको प्रमुख मुद्दा धर्म होइन, जीवन हो। हिन्दु–मुस्लिमको बहसले न त शिक्षा सस्तो बनाउँछ, न रोजगारी सिर्जना गर्छ, न त अस्पतालमा उपचार सहज बनाउँछ। युवाहरूको वास्तविक एजेन्डा शिक्षा, रोजगारी, स्वास्थ्य र आफ्नै देशमा सुरक्षित भविष्य हो। तर यिनै आधारभूत जिम्मेवारी पूरा गर्न असफल भएपछि सरकार र राजनीतिक दलहरू जनतालाई मुद्दाबाट भड्काउने र अल्झाउने बाटोमा उभिएका छन्।

शिक्षा महँगो बन्दै गएको छ र गुणस्तर निरन्तर खस्कँदै छ। विश्वविद्यालयदेखि विद्यालयसम्म असमानता बढ्दो छ। रोजगारीको नाममा नीति होइन, भाषण मात्रै छन्। परिणामतः युवा पुस्ता विदेशिन बाध्य छ। स्वास्थ्य सेवा नागरिकको अधिकारभन्दा व्यापारमा रूपान्तरण भएको छ, जहाँ सामान्य उपचारका लागि पनि ऋण खोज्नुपर्ने अवस्था छ। यी सबै प्रश्नको जवाफ दिन नसक्दा सत्ता आज धर्मको आडमा आफ्ना असफलता ढाकछोप गर्न खोज्दैछ।

धर्मलाई राजनीतिक हतियार बनाउनु नयाँ कुरा होइन, तर आज यो रणनीति झनै खतरनाक बन्दै गएको छ। धर्मको नाममा उन्माद फैलाउँदा जनता भावनामा बग्छन्, प्रश्न गर्न छाड्छन्। जब युवाहरू आस्थाको झगडामा अल्झिन्छन्, तब शिक्षा, रोजगारी र स्वास्थ्यजस्ता आधारभूत मुद्दा स्वतः ओझेलमा पर्छन्। यही नै असफल राजनीतिको सबैभन्दा सजिलो र सस्तो उपाय बनेको छ।

चिन्ताको विषय के हो भने, यो खेल केवल स्वदेशी असफल राजनीतिसम्म सीमित छैन। देशभित्र धार्मिक तनाव र अस्थिरता चर्किँदा त्यसबाट लाभ उठाउने विदेशी स्वार्थी शक्तिहरू पनि सक्रिय देखिन्छन्। कमजोर राज्य, विभाजित समाज र भड्किएको युवा शक्ति।यी सबै बाह्य हस्तक्षेपका लागि उर्वर भूमि हुन्। त्यसैले धार्मिक ध्रुवीकरण आज केवल राजनीतिक कमजोरी होइन, राष्ट्रिय सुरक्षाको प्रश्नसमेत बन्न पुगेको छ।

यसको प्रत्यक्ष असर हामीले व्यवहारमै भोगिरहेका छौं। हिन्दु–मुस्लिमको नाममा हुने तनावका कारण वीरगञ्जजस्ता प्रमुख व्यापारिक केन्द्र पटक–पटक बन्द हुन पुग्छन्। बजार ठप्प हुन्छ, उद्योग र यातायात अवरुद्ध हुन्छन्। दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने नागरिकको चुलो बल्दैन। विद्यालयदेखि अस्पतालसम्म प्रभावित हुन्छन्। यसले कसैको धर्मको रक्षा गर्दैन, बरु आम नागरिकको जीवनमा प्रत्यक्ष चोट पुर्‍याउँछ।

युवाहरूले अब स्पष्ट रूपमा बुझ्न आवश्यक छ।धर्म हाम्रो व्यक्तिगत आस्था हो, तर सार्वजनिक नीतिको विकल्प होइन। आस्थाले पेट भरिँदैन, नाराले रोग निको पार्दैन, र विभाजनले भविष्य निर्माण गर्दैन। राष्ट्रको भविष्य शिक्षा, सीप, अवसर, सामाजिक सद्भाव र उत्तरदायी शासनबाट मात्रै सुरक्षित हुन्छ।

आज युवाहरू धर्मको नाममा होइन, अधिकारको नाममा एकजुट हुन आवश्यक छ। प्रश्नहरू स्पष्ट रूपमा उठ्नुपर्छ।शिक्षा किन महँगो भयो? रोजगारी किन सिर्जना हुन सकेन? स्वास्थ्य किन आम नागरिकको पहुँचबाहिर पुग्यो? देशभित्र बारम्बार अस्थिरता कसका लागि र किन सिर्जना गरिँदैछ?

जबसम्म यी प्रश्नहरू उठ्दैनन्, तबसम्म असफल राजनीति र बाह्य स्वार्थको गठजोडले धर्मको धुवाँमा युवाको भविष्य जलाइरहनेछ।

हामीलाई विभाजन होइन, शान्ति चाहिएको छ।

हामीलाई उन्माद होइन, अवसर चाहिएको छ।

र हामीलाई धर्मको राजनीति होइन, उत्तरदायी शासन चाहिएको छ।

यही चेतनाबाट नै परिवर्तनको वास्तविक सुरुवात सम्भव छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर