Tuesday, July 28, 2026

२५औँ स्थापना दिवसमा सशस्त्र प्रहरीद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

कलैया, २७ पुस । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर बाराले २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा बाराको पचरौता नगरपालिका–१ हरपुरस्थित मुसहर बस्तीमा रहेको श्री दलित प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ।

विपन्न तथा सीमान्तकृत समुदायलाई लक्षित गर्दै सशस्त्र प्रहरीले विद्यालयमा अध्ययनरत १२४ जना बालबालिकालाई एक कार्यक्रमबीच न्यानो कपडा वितरण गरेको हो। जाडो मौसमका कारण बालबालिकाले भोग्नुपर्ने कठिनाइलाई मध्यनजर गर्दै उक्त सहयोग प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर बाराका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले न्यानो कपडा वितरणसँगै बालबालिकालाई खाना खुवाइएको जानकारी दिए। उनका अनुसार उक्त विद्यालयको भवनमा रङरोगनसमेत गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह जैसवारले सशस्त्र प्रहरी बलले आफ्नो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण गरी सराहनीय कार्य गरेको बताए। उनले विद्यालयको सुरक्षाका लागि अगाडि कम्पाउन्ड पर्खाल निर्माण गरिएको जानकारी दिँदै आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्यालयमा चार कोठे भवन निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे।

नगर प्रमुख जैसवारले दलित बस्तीका सडकहरू छिट्टै ढलान गरिने जानकारी दिँदै वडा नम्बर १ मा स्वास्थ्य, शिक्षा, सडक, कृषि लगायतका क्षेत्रमा करिब ८ करोड रुपैयाँ बराबरका विकास कार्य भइरहेको बताए।

दलित प्राथमिक विद्यालय हरपुरका प्रधानाध्यापक बजरंगी माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी बल नं. १२ गण बाराका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी, वडा नम्बर १ का वडा अध्यक्ष विनय कुमार सिंह, इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णदेव साह, शिक्षक, स्थानीयवासी, अभिभावक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी नायब निरीक्षक विक्रम पौडेलले गरेका थिए। यसैगरी २५औँ सशस्त्र प्रहरी दिवसकै अवसरमा बाराको कलैया उपमहानगरपालिका–१६ स्थित श्री विद्यामन्दिर जोगिन्दर सामुदायिक आधारभूत विद्यालयमा भलिबल, फुटबल लगायतका विभिन्न खेलकुद सामग्रीसमेत वितरण गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर