Sunday, July 19, 2026

ग्रामीण परिवेशबाट सूचना प्रविधि क्षेत्रमा स्थापित हुँदै राजनीतिक यात्रामा अरविन्द साह

कलैया, १८ माघ।  बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा इन्जिनियर अरविन्द साह निर्वाचन मैदानमा छन्। शिक्षा, सूचना प्रविधि, उद्यमशीलता र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका साहको पृष्ठभूमि बहुआयामिक रहेको देखिन्छ।

इन्जिनियर साहको जन्म वि.सं. २०४१ वैशाख ५ गते बाराको महागढीमाई नगरपालिका वडा नम्बर ७ तेलकुवामा भएको हो। उनका बुवा श्याम किशोर प्रसाद साह र आमा अनिता देवी साह प्राथमिक तहका शिक्षक थिए। पारिवारिक रूपमा मध्यमवर्गीय पृष्ठभूमिमा हुर्किएका साहको बाल्यकाल ग्रामीण परिवेशमै बितेको हो। सीमित साधनस्रोतका बाबजुद शिक्षामा गरिएको विश्वास र लगानीले साह परिवारका तीनै सन्तानलाई उच्च शिक्षासम्म पुर्‍याएको देखिन्छ। जेठा दाजु पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियर, अरविन्द साह कम्प्युटर इन्जिनियर र कान्छा भाइ एमडी डाक्टर बन्न सफल हुनु यसकै उदाहरण हो।

 

रुखमुनिको कक्षाबाट पुल्चोकसम्म

साहको शैक्षिक यात्रा सहज थिएन। गाउँको प्राथमिक विद्यालयमा पूर्वाधारको अभावमा रुखमुनि प्लास्टिकको बोरा ओछ्याएर पढाइ सुरु गरेका उनले माध्यमिक शिक्षा बारा सदरमुकाम कलैयाबाट पूरा गरे। उच्च शिक्षा वीरगन्जमा हासिल गर्दै काठमाडौं पुगेका साहले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा छात्रवृत्ति मार्फत कम्प्युटर इन्जिनियरिङ विषयमा स्नातक अध्ययन पूरा गरेका हुन्। साथै, ग्रामीण विकास विषयमा स्नातकोत्तर अध्ययन गरेका साह हाल सोही विषयमा विद्यावारिधि (पिएचडी) अध्ययनरत छन्।

शून्यबाट सुरु भएको उद्यमशील यात्रा

पढाइसँगै उद्यमशीलताको बाटो रोजेका साहले सन् २००७ मा पुल्चोक क्याम्पसमा अध्ययनरत रहँदा चार जना साथी मिलेर ‘जानकी टेक्नोलोजी प्रालि’ स्थापना गरेका थिए। सोही कम्पनीमार्फत सुरु गरिएको ‘स्प्यारो एसएमएस’ सेवा आज १९ वर्षदेखि देशभर सूचना पहुँचको माध्यम बनेको छ। सन् २०१७ मा सुरु गरिएको डिजिटल भुक्तानी सेवा ‘खल्ती’ पनि साह संलग्न प्रमुख प्रविधिगत परियोजनामध्ये एक हो। उनी औपचारिक राजनीतिमा आउनु भन्दा अघि खल्तीका सह–संस्थापक समेत थिए। उक्त सेवा हाल नेपालभर डिजिटल भुक्तानी प्रणालीका रूपमा प्रयोगमा छ। यसबाहेक सूचना प्रविधिसँग सम्बन्धित अन्य व्यवसायिक परियोजनामा पनि उनी संलग्न रहँदै आएका छन्।

रोजगारी, प्रविधि र सामाजिक योगदान

सूचना प्रविधि क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न कम्पनी र परियोजनामार्फत साह संलग्न संस्थाहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गरेको समेत उनले बताएका छन् । उनी उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकाससम्बन्धी कार्यक्रम, छलफल र प्रशिक्षणमा सहभागी हुँदै आएका छन्। उनले युवहारु माझ विभिन्न कार्यक्रममा भाग लिएर स्टार्टअप इकोसिस्टमलाई प्रमोट गर्दै आएका छन्।

कृषि र ग्रामीण अर्थतन्त्रसँग जोडिएको काम

ग्रामीण क्षेत्रको आर्थिक गतिविधिसँग जोडिँदै साह कृषि क्षेत्रमा पनि संलग्न छन्। ‘किसान एग्रो’ नामक कृषि–आधारित परियोजनामार्फत प्रविधिमैत्री कृषि, बेमौसमी तथा उच्च मूल्यका बाली उत्पादनसम्बन्धी काम अघि बढाइएको छ। उक्त परियोजनाले ग्रामीण क्षेत्रमा कृषि व्यवसायीकरण र प्रविधिको प्रयोगबारे बारे जानकारी गराएका छन् । कृषि क्षेत्रमा प्रयोग गरिएका नयाँ अभ्यासको अवलोकनका लागि विभिन्न सरोकारवाला पक्षको सहभागिता पनि रहेको साहले बताएका छन्।

सम्मान तथा उपलब्धि

इन्जिनियर साहले विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम र संस्थाबाट सम्मान प्राप्त गरेका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको २९औँ समितिद्वारा आयोजित ५१औँ इन्जिनियर दिवसका अवसरमा सन् २०१३ मा तत्कालीन माननीय उपराष्ट्रपति परमानन्द झाबाट उनी ‘युवा व्यावसायिक पुरस्कार’ बाट सम्मानित भएका थिए। यसअघि सन् २००५ मा पुल्चोक क्याम्पसको स्वतन्त्र विद्यार्थी संघमा निर्वाचित भई विद्यार्थी हितसम्बन्धी गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका थिए। यस्तै, सन् २०२२ मा मधेस प्रदेशद्वारा उद्यमशीलता तथा नवप्रवर्तन क्षेत्रमा योगदान पुर्‍याएको भन्दै उत्कृष्टता पुरस्कार प्रदान गरिएको थियो। साथै, उनी गुगल बिजनेस ग्रुप पुरस्कारका लागि छनोट हुनुका साथै जलवायु लन्चप्याड कार्यक्रम र सुप्रविधा नवीकरणीय ऊर्जा पुरस्कारबाट पनि सम्मानित भएका छन्। उनले अन्तर्राष्ट्रिय स्तरका केही प्रविधि तथा जलवायु–सम्बन्धी कार्यक्रमहरूमा पनि सहभागिता जनाएका छन्।

राजनीतिमा प्रवेश

शिक्षा, प्रविधि, उद्यम र सामाजिक क्षेत्रमा लामो समय संलग्न रहेका साह हाल प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचन प्रक्रियामा सहभागी छन्। उनले सार्वजनिक रूपमा शिक्षा, कृषि, सूचना प्रविधि, रोजगारी र ग्रामीण विकाससम्बन्धी विषयलाई प्राथमिक चासोका  रूपमा उल्लेख गर्दै आएका छन्।

(यो सामग्री उम्मेदवारको सार्वजनिक जीवन, शैक्षिक पृष्ठभूमि, व्यवसायिक संलग्नता र सामाजिक गतिविधिमा आधारित रहेर तयार गरिएको हो।)

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर