कलैया, १७ फागुन । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा मतपेटिकासहितका सम्पूर्ण निर्वाचन सामग्रीहरू पठाइएको छ।
जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार आज आइतबार बेलुकीसम्ममा जिल्लाका सबै निर्वाचन अधिकृतका कार्यालयहरूमा आवश्यक सामग्री पुर्याइएको हो। जिल्ला निर्वाचन अधिकारी नविन चौधरीले निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका र अन्य प्राविधिक सामग्रीहरू सम्बन्धित क्षेत्रमा पठाइसकिएको र निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बारा अपडेटलाई जानकारी दिएका छन्।
“निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सबै सामग्रीहरू पठाइएको छ र जिल्लाभर निर्वाचनको व्यवस्थापकीय तयारी पूर्ण भएको छ,” चौधरीले भने ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था र कर्मचारी परिचालनलाई समेत चुस्त बनाइएको निर्वाचन कार्यालयले जनाएको छ।
यसैबीच, निर्वाचनलाई लक्षित गरी सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बारासँग जोडिएको भारतीय सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ। भोलि राती १२ बजे देखि मतदान नसकिएसम्मका लागि ७२ घण्टा सीमा नाका पूर्ण रूपमा सिल गरिने प्रशासनले जनाएको छ। यो अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका आवतजावतमा रोक लगाइनेछ।



