Thursday, June 4, 2026

जीतपुर क्षेत्रमा ६ लेन सडक अतिक्रमण हटाइँदै, शनिबारसम्म फुटपाथ खाली गर्न अल्टिमेटम

spot_img

बारा,२० चैत । बाराको जीतपुर क्षेत्रमा ६ लेन राजमार्ग आसपासमा फैलिँदै आएको फुटपाथ तथा अस्थायी बजार हटाउने निर्णय गरिएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाले शनिबारसम्मको समयसीमा दिँदै सडक र फुटपाथ खाली गर्न निर्देशन जारी गरेको हो।

उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकपछि नगर प्रमुख राजन पौडेल ले सडक अतिक्रमण नियन्त्रणलाई कडाइका साथ कार्यान्वयन गर्ने बताउनुभयो। उहाँका अनुसार ६ लेन राजमार्गको सौन्दर्य, सवारी आवागमनको सहजता र पैदलयात्रीको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।

उपमहानगरपालिकाले पटक–पटक सूचना जारी गर्दै फुटपाथ व्यवसाय हटाउने प्रयास गरे पनि व्यवसायीहरूले पुनः सडक छेकेर व्यापार सञ्चालन गर्दै आएका थिए। यसले ट्राफिक जाम, दुर्घटनाको जोखिम र सर्वसाधारणलाई आवतजावतमा समस्या बढाएको भन्दै सरोकारवालाहरूले गुनासो गर्दै आएका थिए। अब भने तोकिएको समयभित्र स्वयं हटाउन आग्रह गरिएको छ। अन्यथा उपमहानगरपालिकाले बलपूर्वक चैत्र २२ गते आईतबार हटाउने चेतावनी दिएको छ।

साथै, अटेर गर्ने व्यवसायीमाथि कानुनी कारबाही समेत अघि बढाइने जनाइएको छ।उपमहानगरपालिकाले वैकल्पिक व्यवस्थापनका लागि समेत छलफल भइरहेको जनाएको छ। व्यवस्थित स्थानमा व्यवसाय सञ्चालन गर्न सकिने गरी योजना बनाइने र साना व्यवसायीहरूको हितलाई पनि ध्यानमा राखिने बताइएको छ।स्थानीय बासिन्दाले भने सडक खुला गराउने निर्णयको स्वागत गरेका छन्।

उनीहरूका अनुसार सडक अतिक्रमण हटेमा ट्राफिक व्यवस्थापन सहज हुने र बजार क्षेत्र थप व्यवस्थित बन्ने अपेक्षा गरिएको छ। उपमहानगरपालिकाले आवश्यक शान्ति ,सुरक्षाकोलागि जिल्ला प्रशासन कार्यालय बारालाई पनि अनुरोध गरिसकेको प्रमुख प्रशासकिय अधिकृत डमरु प्रसाद निरौलाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर