Tuesday, July 21, 2026

सिमरा–काठमाडौं हवाई मार्गमा यात्रुको चाप घट्यो

बारा ०३ बैशाख । सिमरा–काठमाडौं हवाई मार्गमा पछिल्ला दिनमा यात्रुको चाप उल्लेखनीय रूपमा घटेको छ। हवाई इन्धनको मूल्य वृद्धि भएसँगै टिकट दर बढेपछि यस रुटमा यात्रु संख्या तीव्र रूपमा घटेको नागरिक उड्डयन कार्यालय सिमराले जनाएको छ।अघिसम्म दैनिक ५ देखि ६ सयसम्म यात्रु आवतजावत गर्ने उक्त रुटमा अहिले करिब २ सय यात्रु मात्र सीमित भएका छन्।

भाडा करिब १ हजार १ सय रुपैयाँले बढेपछि सिमराबाट काठमाडौं जान ५ हजार ५ सय ५० रुपैयाँ र काठमाडौंबाट सिमरा आउन ५ हजार १ सय ५० रुपैयाँ तिर्नुपर्ने भएको छ।यात्रु अभावका कारण उडानहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। करिब १५ मिनेटको उडानमा समेत जहाजहरू आधाभन्दा कम यात्रुसहित उडिरहेका छन्। काठमाडौंबाट सिमरा आउने उडानमा करिब २५ जना र सिमराबाट फर्किने क्रममा झन्डै ३० जना मात्र यात्रु हुने गरेको तथ्यांकले देखाएको छ।

बुद्ध एयर सिमरा कार्यालयका प्रमुख सुरेश रेग्मीका अनुसार पछिल्ला दुई सातामा उडानको औसत अकुपेन्सी ५० प्रतिशतमा झरेको छ। उनका अनुसार जेनजी आन्दोलनपछि यात्रु संख्या घट्न थालेको हो भने पछिल्लो भाडा वृद्धिले मध्यम वर्गका यात्रुहरूलाई थप प्रभावित पारेको छ।सिमरा विमानस्थल मुख्यतः पथलैया–वीरगञ्ज औद्योगिक करिडोरसँग जोडिएका व्यापारिक तथा राजनीतिक यात्राका लागि प्रयोग हुँदै आएको थियो। तर नयाँ सरकार गठनसँगै राजनीतिक गतिविधि कम हुँदा यात्रु संख्या घट्न थप प्रभाव परेको देखिन्छ।यता, सडक मार्गको सहज विकल्पले पनि हवाई यात्रामा कमी ल्याएको छ।

सिमरा–काठमाडौं दूरी सडकमार्गबाट करिब चार घण्टामै पार गर्न सकिने भएकाले महँगो भाडाबाट बच्न धेरै यात्रुहरू स्थलमार्ग रोज्न थालेका छन्। ट्राभल व्यवसायीहरूका अनुसार नियमित हवाई यात्रुहरू समेत अहिले सडक यात्रा तर्फ आकर्षित भएका छन्। हाल सिमरा विमानस्थलबाट बुद्ध एयरले मात्र एटीआर–७२ जहाजमार्फत दैनिक पाँच उडान सञ्चालन गरिरहेको छ। अन्य यति एयर, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र नेपाल एयरलाइन्सले भने यस रुटमा सेवा स्थगित गरिसकेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर