बारा, १३ साउन । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा साउन १० गते आइतबार राति ताला तोडेर ४ थान गहना चोरी भएको घटनाप्रति स्थानीयले गम्भीर ध्यानाकर्षण गराएका छन्।
घटनाको चार दिनपछि बुधबार स्थानीयवासीले मन्दिरको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीको तत्काल पहिचान गरी कानुनी कारबाही तथा मन्दिरमा जडान गरिएको सिसिटिभी क्यामराको फुटेज सार्वजनिक गर्न माग गरेका हुन्।
पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका निवर्तमान सभापति चन्दन कुमार स्वर्णकारले धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको गढीमाई मन्दिरमा भएको चोरीको घटनाले सर्वसाधारणमा गम्भीर चिन्ता उत्पन्न गरेको भन्दै सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
मन्दिरका मूल पुजारी शिव चौधरीका अनुसार चोरीमा चाँदीको मुकुट, सुनको जलप लगाइएको चाँदीको हार, सुनको तिलहरी र सुनको हार गरी ४ थान गहना चोरी भएका छन्।
यता जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले मन्दिरमा जडान गरिएको सिसिटिभी क्यामराको फुटेजका आधारमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
साथै घटनामा संलग्न व्यक्तिहरूको हालसम्म पहिचान हुन नसकेको र उनीहरूको खोजी तथा अनुसन्धान कार्य तीव्र रूपमा अघि बढाइएको उनले जानकारी दिए ।



