Tuesday, August 4, 2026

बारामा सशस्त्र प्रहरीद्वारा ३१ लाख ७९ हजार बराबरको अवैध सामान बरामद

बारा,१९ साउन । बारामा सशस्त्र प्रहरीले साउन महिनामा विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याइएका करिब ३१ लाख ७९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालका अनुसार साउन १९ गते मंगलवार बिश्रामपुर गाउँपालिका–४ खुदियाटोला सीमा क्षेत्रमा बरामद गरिएको सामानसहित साउन महिनामा हालसम्म अवैध सामान करिब ३१ लाख ७९ हजार रुपैयाँ पुगेको हो।

सीमा सुरक्षा चौकी (बीओपी) बरैनियाबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ५ लाख ८९ हजार रुपैयाँ बराबरका ७७९ थान लेडिज टप्स र ७६ थान लेडिज कुर्ता बरामद गरेको गणपति सशस्त्र प्रहरी उपरीक्षक सिलवालले जानकारी दिएका छन् ।

त्यस्तै, करिब ३० हजार ९१० रुपैयाँ बराबरका पेय पदार्थ, किराना तथा औषधि समेत बरामद गरिएको छ। बरामद सामानको अन्दाजी मुल्य ६ लाख १९ हजार ९१० रुपैयाँ रहेको छ।

सशस्त्र प्रहरीको टोली देखेपछि सामान ल्याउने व्यक्तिहरू सामान छाडेर फरार भएका थिए। बरामद कपडा, पेय पदार्थ, किराना तथा औषधिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको गणपति सशस्त्र प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए ।

एसपी सिलवालका अनुसार बीओपी बरैनियाबाट मात्रै साउन महिनामा हालसम्म करिब २५ लाख ६० हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ।

सीमा क्षेत्रमा हुने चोरी–पैठारी तथा भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई थप प्रभावकारी बनाएको एसपी सिलवालले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर