बारा, २५ साउन । बारामा करको दायरा विस्तार भएसँगै आन्तरिक राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ।
आन्तरिक राजस्व कार्यालय सिमराले गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आव २०८१/८२ को १५ अर्ब २२ करोड ७७ लाख ६४ हजार रुपैयाँको तुलनामा १७ प्रतिशतले वृद्धि गर्दै १७ अर्ब ८१ करोड ६७ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
कार्यालयका प्रमुख दिनेश पाण्डेका अनुसार निर्धारित २१ अर्ब ४ करोड ४४ लाख ८६ हजार रुपैयाँको लक्ष्यमध्ये ८५ प्रतिशत प्रगति हासिल भएको हो। सङ्कलित राजस्वमा सबैभन्दा बढी वृद्धि आयकरतर्फ १०४.७ प्रतिशतले भई १ अर्ब ७४ करोड २२ लाख ३१ हजार रुपैयाँ पुगेको छ भने भ्याटतर्फ ४१.४६ प्रतिशतले बढेर १ अर्ब ५२ करोड ८८ लाख ८ हजार रुपैयाँ सङ्कलन भएको छ।
कुल राजस्वमा सबैभन्दा ठूलो हिस्सा ओगटेको अन्तःशुल्कतर्फ ११ अर्ब ६६ करोड २० लाख ४७ हजार रुपैयाँ उठेको छ। कार्यालयका अनुसार यस अवधिमा दर्ता भएका कुल करदाताको सङ्ख्या १०.२ प्रतिशतले बढेर ९३ हजार १ सय ९ पुगेको छ ।
यस्तै व्यक्तिगत प्यान लिनेको सङ्ख्या ६४ हजार ६ सय पुगेको छ। कर प्रशासनको पहुँच विस्तार र व्यावसायिक गतिविधिमा आएको सुधारले राजस्व र करदाता दुवैको दायरा फराकिलो बनेको कार्यालयले जनाएको छ।




