बारा, २५ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण चीनसँग जोडिएका प्रमुख उत्तरी नाकाहरू रसुवागढी र तातोपानी अवरुद्ध भएपछि वीरगन्ज नाकामा व्यापारिक चाप अत्यधिक बढेको छ।
दसैँ, तिहार तथा छठजस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा व्यापारीहरूले चीनबाट आयात हुने लत्ताकपडा, जुत्ता, सजावटका सामान, ड्राइ फ्रुट्स र चकलेटजस्ता सामग्रीहरू नाका परिवर्तन गरी वीरगन्ज र यसअन्तर्गतको सिर्सिया सुक्खा बन्दरगाहामार्फत भित्र्याउन थालेका छन्।
वीरगन्ज भन्सारअन्तर्गतको सिर्सिया सुक्खा बन्दरगाहाबाट रेलमार्फत चीनबाट आयात भएका केही सामान भित्रिन सुरु भइसकेको तथा चाडपर्व लक्षित सामानसँगै इन्धन, सवारी साधन, निर्माणजन्य, खाने तेललगायतका मालवस्तु नियमित आयात भइरहेकाले भदौ महिनामा वीरगन्ज भन्सारको राजस्व असुली बढेको छ ।
उत्तरी नाका ठप्प हुँदा दक्षिणी नाकामा व्यापारिक चाप पर्दा वीरगन्ज भन्सार कार्यालयको दैनिक आयात ७० प्रतिशतले बढेको छ भने राजस्व असुलीमा पनि उत्साहजनक सुधार देखिएको छ। भदौ महिनाका लागि निर्धारित रू २३ अर्ब ५२ करोडको लक्ष्यमध्ये २४ गतेसम्ममा नै ९३.३७ प्रतिशत राजस्व सङ्कलन भइसकेको छ।
यद्यपि, मुख्य राजमार्गमा बाढीले पुर्याएको क्षतिका कारण काठमाडौँसम्म सामान ढुवानी गर्दा वैकल्पीक सडक प्रयोग गर्नुपर्ने र ठूला कन्टेनरका सामान छोटा गाडीहरूमा सारेर ल्याउनुपर्ने बाध्यता सिर्जना भएको छ। यसले ढुवानी खर्च बढाएकाले बजारमा वस्तुको मूल्य वृद्धि हुनसक्ने भन्दै उपभोक्तावादी सङ्घसंस्थाले चिन्ता व्यक्त गरेका छन्।





