पर्सा, ०५ असोज। पर्साको धोबिनी गाउँपालिकामा चोरी गर्न घरभित्र प्रवेश गरेको आशंका गरिएको अज्ञात समूहले ६० वर्षीया महिलाको हत्या गरी घरमा रहेका सुनचाँदीका गरगहना तथा नगद लुटेर फरार भएको छ।
धोबिनी गाउँपालिका–५, धोबिनीकी ६० वर्षीया लखराजो देवी तुरहाको सोमबार बिहान हत्या भएको हो। घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ भने प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढाएको छ।
स्थानीयका अनुसार तीन तल्ले घरको तल्लो कोठामा लखराजो देवी आफ्ना श्रीमान्सँगै सुत्ने गरेकी थिइन्। सोमबार बिहान करिब ३/४ बजेतिर उनी हरेक दिनझैँ माथिल्लो तलामा रहेका छोरा–बुहारीको कोठातर्फ गएकी थिइन्।
सोही क्रममा घरको माथिल्लो तलामा चोरी भइरहेको अवस्थामा उनले चोर समूहलाई देखेको र रोक्न खोजेको स्थानीयको भनाइ छ। चोरी भइरहेको देखेपछि प्रतिकार गर्न खोज्दा चोर समूहले पछाडिबाट फलामको रडले उनको टाउकोमा प्रहार गरेको र गम्भीर चोटका कारण उनको मृत्यु भएको हुनसक्ने प्रारम्भिक आकलन गरिएको छ।
महिलाको हत्या गरेपछि चोर समूहले उनको शरीरमा लगाइएका सुनचाँदीका गरगहनासहित घरमा राखिएका लाखौँ रुपैयाँ बराबरका गरगहना तथा नगदसमेत लिएर फरार भएको बताइएको छ। चोरी भएको सम्पत्तिको वास्तविक विवरण भने प्रहरीको अनुसन्धानपछि मात्र खुल्नेछ।
घटनापछि बिहान अबेरसम्म श्रीमती पूजा गर्नका लागि तल नआएपछि उनका श्रीमान् उनलाई खोज्दै माथिल्लो तलामा पुगेका थिए। त्यहाँ उनले श्रीमतीलाई मृत अवस्थामा फेला पारेपछि गाउँघर तथा छिमेकीलाई खबर गरेका थिए। त्यसपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षकसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थललाई सुरक्षित राख्दै घरलाई सिल गरी घटनासम्बन्धी प्रमाण तथा अन्य विवरण संकलन गर्न थालेको थियो।
प्रहरीले प्रारम्भिक अनुसन्धानपछि मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगन्ज ल्याएको छ।
तालिमप्राप्त कुकुर परिचालन
घटनाको अनुसन्धानलाई थप प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय पर्साबाट विशेष तालिमप्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएको छ।
प्रहरीले घटनास्थलमा भेटिएका सम्भावित प्रमाण, घरको अवस्था तथा चोरी भएको भनिएको सामानको विवरण संकलन गर्नुका साथै घटनामा संलग्न व्यक्तिहरूको पहिचान र खोजीलाई अघि बढाएको छ।
मृतक लखराजो देवीका छोरा अभिलाष साह काठमाडौंमा माछाको व्यवसाय गर्दै आएका छन्। उनी श्रीमती तथा छोराछोरीसहित काठमाडौंमा बस्दै आएका थिए।
आमाको हत्या भएको खबर पाएपछि साह काठमाडौंंबाट पर्सा आएका छन्। उनले घटनाको कानुनी प्रक्रियामा प्रहरीलाई सहयोग गर्दै आमाको हत्या तथा घरमा भएको चोरीमा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न प्रहरीसमक्ष आग्रह गरेका छन्।
घरभित्रै चोरी गर्न प्रवेश गरेको आशंका गरिएको समूहले चोरीकै क्रममा वृद्ध महिलाको हत्या गरेको घटनाले धोबिनी क्षेत्रमा सुरक्षा चिन्ता बढाएको छ। एकातर्फ घरमा चोरी भएको र अर्कोतर्फ चोरी रोक्न खोजेको अवस्थामा वृद्ध महिलाको ज्यान गएको आशंकाले स्थानीयवासी स्तब्ध भएका छन्।
यद्यपि घटनामा कति जनाको संलग्नता थियो, कति रकम तथा गरगहना चोरी भयो र हत्या तथा चोरीमा संलग्न व्यक्ति को हुन् भन्ने विषय भने प्रहरीको विस्तृत अनुसन्धानपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ।






