बारा,१४ असोज । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाबारे विद्यार्थीलाई सचेत गराउने उद्देश्यले बारामा विद्यालयस्तरीय ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढको मातहतमा रहेको अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाले अभियानअन्तर्गत मंगलबार कलैया उपमहानगरपालिका–१४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भौरा र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय बघवनमा सचेतना कार्यक्रम आयोजना गरेको हो।
अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रमुख प्रहरी सहायक निरीक्षक प्रिन्सानन्द यादवको नेतृत्वमा पुगेको टोलीले विद्यार्थीलाई सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक नियमको पालना, सुरक्षित रूपमा सडक पार गर्ने तरिका तथा सवारी दुर्घटनाबाट बच्ने उपायबारे जानकारी दिएको थियो।
प्रशिक्षणका क्रममा हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, तीव्र गतिमा सवारी चलाउँदा हुने जोखिम र जथाभावी सडक प्रयोगबाट निम्तिन सक्ने दुर्घटनाबारे समेत विद्यार्थीलाई जानकारी गराइएको थियो।
ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्षको अढाई महिनामै बारामा १६४ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने २५३ जना घाइते भएका छन्। बढ्दो दुर्घटनालाई दृष्टिगत गर्दै सडक सुरक्षाका लागि नियम कार्यान्वयनसँगै नागरिकको व्यवहारमा समेत सुधार आवश्यक रहेको प्रहरीको भनाइ छ।
प्रहरी सहायक निरीक्षक यादवले विद्यार्थी स्वयं नियमित सडक प्रयोगकर्ता भएकाले विद्यालय तहबाटै ट्राफिक नियम र सडक सुरक्षाबारे जानकारी गराउँदा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए। उनका अनुसार विद्यार्थीमार्फत अभिभावक र समुदायसम्म पनि सडक सुरक्षा सम्बन्धी सन्देश पुर्याउने उद्देश्यले अभियानलाई विद्यालय केन्द्रित गरिएको हो।
भौरा विद्यालयका कक्षा ८, ९ र १० तथा बघवन विद्यालयका कक्षा ७ र ८ का विद्यार्थीलाई सचेतना कार्यक्रममा सहभागी गराइएको थियो। कार्यक्रममा भौरा विद्यालयका प्रधानाध्यापक ब्रजकिशोर मिश्र, बघवन विद्यालयका प्रधानाध्यापक जितेन्द्र कुशवाहा, पत्रकार रमेश ठाकुरलगायतको उपस्थिति थियो।






