Saturday, October 3, 2026

बाराका सांसद चन्दन कुमार सिंहविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारको मुद्दा दर्ता

Advertisement
Advertisement

बारा, १७ असोज । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट जारी परमादेशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा क्षेत्र नं. २ का सांसद चन्दन कुमार सिंहसहित १४ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा भेदभाव तथा अपमानजनक व्यवहारको मुद्दा दर्ता भएको छ।

बाराको देवताल गाउँपालिका–५ का ३१ वर्षीय गनपत कुमार महतोको जाहेरीका आधारमा गत असोज ६ गते प्रहरीले यो मुद्दा दर्ता गरेको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार अदालतको परमादेश कार्यान्वयन गर्दै मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

यसअघि पनि प्रहरीमा जाहेरी दिने प्रयास भए पनि दर्ता नभएपछि पीडित पक्ष अदालत पुगेका थिए तर हालसम्म कसैलाई पक्राउ पुर्जी भने जारी भइसकेको छैन। जाहेरीकर्ता महतो देवताल गाउँपालिकाका करार सेवाका सुपरभाइजर हुन्। पालिकाभित्र भएका गलत गतिविधि तथा विकास निर्माणका काममा अवरोध पुर्‍याइएको विषयमा विरोध गर्दा २०८१ कात्तिक २७ गते सांसद सिंहको अगुवाइमा आफूलाई सामाजिक बहिष्कार गर्ने निर्णय गराइएको आरोप महतोले लगाएका छन्।

यसका साथै, स्थानीय तहमा उजुरी पर्दा आफू ७ दिनको निलम्बनमा समेत परेको र गाउँका धार्मिक तथा सामाजिक कार्यक्रम, विवाह एवं सार्वजनिक स्थलहरूमा परिवारसहित सहभागी हुन रोक लगाइएको जाहेरीमा उल्लेख छ। विपक्षीहरूले केहि ब्यक्तिहरुलाई प्रलोभनमा पारी आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले कुप्रचार गरेको दाबी महतोले गरेका छन्।

सांसद सिंहसहित १४ जना आरोपीविरुद्ध सामाजिक प्रतिष्ठामा आँच पुर्‍याएको, अपहेलना गरेको र मानमर्दन गरेको आरोप लगाउँदै सत्यतथ्य छानबिन गरी कडा कारबाहीको माग गरिएको छ। प्रमाणका रूपमा सामाजिक बहिष्कार गर्दा गरिएका निर्णयका प्रतिलिपिहरूसमेत जाहेरीसोबत संलग्न राखिएका छन्। सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट देवताल गाउँपालिकाका अध्यक्ष बनेका थिए र पछि रास्वपा प्रवेश गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर