बारा, २७ असोज। ७१औँ प्रहरी दिवस-२०८३ को अवसरमा बारामा ४५ जनाले रक्तदान गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणमा प्रादेशिक अस्पताल कलैयाको रक्तसञ्चार शाखासँगको सहकार्यमा मंगलबार आयोजित कार्यक्रममा ४५ जनाले रक्तदान गरेका हुन्।
‘विपद्मा सारथी, संकटमा छहरी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले प्रादेशिक अस्पताल कलैयाको रक्तसञ्चार शाखाका इन्चार्ज राजाबाबु गुप्तालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घले, प्रहरी निरीक्षक प्रकाश खड्का, विमल खतिवडा, प्रादेशिक अस्पताल कलैयाको रक्तसञ्चार शाखाका कर्मचारी तथा प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।






