Saturday, October 17, 2026

‘विपद्मा सारथी, संकटमा छहारी’ नारासहित बारामा मनाइयो ७१ औं प्रहरी दिवस

Advertisement
Advertisement

बारा, ३० असोज । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस-२०८३ का अवसरमा बारामा प्रहरी दिवस मनाइएको छ।

जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणमा शुक्रबार आयोजित कार्यक्रममा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण, अमर प्रहरीका परिवारजनलाई सम्मान, प्रहरी कर्मचारीलाई पुरस्कार वितरण तथा सञ्चारकर्मी र विभिन्न संघसंस्थालाई कदरपत्र प्रदान गरिएको हो।

‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको अध्यक्षता तथा बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खडानन्द अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा सूचना अधिकारी मीन बहादुर घलेले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शुभकामना सन्देशसमेत वाचन गरेका थिए ।

कार्यक्रममा अमर प्रहरीप्रति पुष्पहार तथा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो। सोही अवसरमा अमर प्रहरीका परिवारजनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई एसपी कुँवरले पुरस्कार वितरण गरेका थिए।

अपराध रोकथाम तथा नियन्त्रण र समाजमा शान्ति सुरक्षा कायम गर्न पत्रकारिताको माध्यमबाट इमानदारीपूर्वक महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै साझेदारी राष्ट्रिय दैनिकका प्रकाशक/सम्पादक श्यामबाबु प्रसाद यादव र उज्यालो न्युज डटकमका सञ्चालक धीरेन्द्र तिवारीलगायत प्रहरी कार्यमा सहयोग पुर्‍याउने विभिन्न संघसंस्थालाई प्रमुख जिल्ला अधिकारी अधिकारी र एसपी कुँवरले संयुक्त रूपमा कदरपत्र प्रदान गरेका थिए।

कार्यक्रममा प्रहरी संगठन बाराका पूर्वअध्यक्ष एवं प्रहरी नायब निरीक्षक जंगबहादुर यादव र जिल्ला सरकारी वकिल कार्यालय बाराका जिल्ला न्यायाधिवक्ता विष्णुप्रसाद पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले नेपाल प्रहरीको गौरवपूर्ण इतिहास, समर्पण र राष्ट्र तथा नागरिकको सुरक्षामा पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले कर्तव्यपालनका क्रममा राष्ट्र र नागरिकको रक्षाका लागि जीवन बलिदान गर्ने अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा अशक्त प्रहरी कर्मचारीप्रति सम्मान व्यक्त गरे।

नेपाल प्रहरीले विभिन्न कालखण्डमा अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, कानुनको प्रभावकारी कार्यान्वयन तथा शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै अधिकारीले बदलिँदो परिस्थितिअनुसार प्रहरी संगठनलाई थप सुदृढ बनाउन आवश्यक स्रोतसाधन उपलब्ध गराउनुका साथै प्रहरी कर्मचारीको मनोबल उच्च राख्नुपर्नेमा जोड दिए।

उनले प्रहरी संगठनलाई नागरिकको विश्वासको केन्द्र बनाउन व्यावसायिक दक्षता, निष्पक्षता र जिम्मेवार सेवा प्रवाह आवश्यक रहेको बताए। साथै, दसैँ, तिहार तथा छठ पर्वको अवसरमा सबैलाई शुभकामनासमेत व्यक्त गरे।

त्यसैगरी, एसपी कुँवरले नेपाल प्रहरी केवल सुरक्षा निकाय मात्र नभई राष्ट्रको शान्ति, सुरक्षा, न्याय, विधिको शासन र नागरिक स्वतन्त्रताको पहरेदार संस्था भएको बताए। ‘सत्य, सेवा, सुरक्षणम्’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै नेपाल प्रहरीले स्थापनाकालदेखि नै राष्ट्र, राष्ट्रियता र आम नागरिकको सेवामा आफूलाई समर्पित गर्दै आएको उनको भनाइ थियो।

देशमा शान्ति सुव्यवस्था कायम गर्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, नागरिकको जीउधनको सुरक्षा गर्ने र संविधानप्रदत्त हकअधिकारको संरक्षण गर्ने जिम्मेवारी नेपाल प्रहरीले निर्वाह गर्दै आएको उनले बताए।

प्रहरी सेवा बर्दी धारण गर्ने र कानुन कार्यान्वयन गर्ने कार्यमा मात्र सीमित नभई कठिन परिस्थितिमा समेत धैर्य, साहस, विवेक, अनुशासन र सेवाभावका साथ राष्ट्र तथा नागरिकको सेवामा अहोरात्र खटिने जिम्मेवारी भएको कुँवरले बताए ।
प्राकृतिक विपद्, सामाजिक संकट, अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका चुनौतीका बेला नेपाल प्रहरी अग्रपङ्क्तिमा रहेर नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्न प्रतिबद्ध रहेको उनले बताए।

कुँवरका अनुसार राष्ट्रको शान्ति सुरक्षा तथा नागरिकको रक्षाका लागि व्यक्तिगत जीवन र पारिवारिक सुखसमेतको प्रवाह नगरी कर्तव्यपालनमा खटिने क्रममा हालसम्म नेपाल प्रहरीका १ हजार ७९३ जना प्रहरी अधिकृत तथा जवानले वीरगति प्राप्त गरेका छन्। उनीहरूको त्याग, साहस, निष्ठा र बलिदान प्रहरी संगठनका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उनले सम्पूर्ण अमर प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे।

उनले बदलिँदो समय, परिवेश र नागरिकका अपेक्षालाई आत्मसात् गर्दै प्रहरी सेवालाई प्रभावकारी, पारदर्शी, प्रविधिमैत्री, उत्तरदायी र जनमुखी बनाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

‘मुस्कानसहितको प्रहरी सेवा’, ‘प्रहरी मेरो साथी’, ‘समुदाय–प्रहरी साझेदारी’, ‘प्रहरी हाम्रो टोलमा’ अभियान, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, साइबर अपराधसम्बन्धी सचेतना, लागूऔषध दुर्व्यसनविरुद्धका अभियान, सडक सुरक्षा तथा ट्राफिक सचेतना र पीडितमैत्री प्रहरी सेवाले प्रहरी र नागरिकबीचको सम्बन्ध सुदृढ बनाउन सहयोग पुर्‍याएको उनले बताए।

प्रहरीको सफलता अपराध नियन्त्रणको तथ्याङ्कबाट मात्र मापन नहुने उल्लेख गर्दै कुँवरले नागरिकले कति सुरक्षित महसुस गरेका छन्, पीडितले न्यायमा कति सहज पहुँच पाएका छन् र समाजले प्रहरीमाथि कति विश्वास गरेको छ भन्ने आधारमा प्रहरी सेवाको वास्तविक सफलता निर्धारण हुने बताए।

जनताको समस्या सुन्ने, पीडितको पीडालाई आत्मसात् गर्ने, कानुनको निष्पक्ष कार्यान्वयन गर्ने र नागरिकको सम्मानलाई प्राथमिकतामा राख्ने कार्यमा प्रहरी निरन्तर क्रियाशील रहेको उनको भनाइ थियो।

कार्यक्रममा बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, राष्ट्रिय अनुसन्धान बाराका उप-निर्देशक सरोज निरौला, रिपुमर्दन गण ब्रह्मपुरका प्रमुख सेनानी गिरिराज गौतम, बारा जिल्ला अदालतका स्रेस्तेदार राजकुमार दाहाल, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका निमित्त गणपति एवं सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारी, अमर प्रहरीका परिवारजन, प्रहरी कर्मचारी, पूर्वप्रहरी, सञ्चारकर्मी तथा राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक राजाबाबु ठाकुरले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर