बारा, २८ माघ। सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को शैली जर्मनका तानशाह हिटलरको जस्तो भएको टिप्पणी गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले नाजीवादको शैली काठमाडौं महानगरको मेयरबाट नचल्ने समेत बताएका छन।
उनले भने, “काठमाडौंको मेयर कुन तानाशाह भएर निस्केको छ ? नाजीवाद र फासीवादको शुरू हुन लागेको हो ?” सांसद सिंहले भने “म बालेनलाई च्यालेन्ज गर्न चाहन्छु हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ, हिम्मत छ भने सिंहदरवार भत्काएर देखाऊ, हिमम्त छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ, हिम्मत छ भने बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ,”।
संघीय राजधानी सबै जातजाति, भाषाभाषीको भएकोले बालेनले अत्याचार गर्न नपाउने सिंहले बताएका छन । काठमाडौं महानगरले कवाड व्यवसायीमाथि हिजो गरेको हस्तक्षेपमा केही मजदुर घाइते भएका छन् ।