Friday, July 24, 2026

आज सीता जयन्ती पर्व मनाइदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

कलैया, २३ बैशाख। आज सीता जयन्ती पर्व मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा अर्चनासहित माता सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ ।

सीता जयन्तीका अवसरमा आज जनकपुरधाम, बाराको कलैया स्थित रामजानकी मन्दिर, वीरगन्जको रामजानकी मन्दिर लगायत देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गर्न भक्तजनको ठूलो भीड लागेको छ ।

त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ।

भगवान् विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ।

अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएपछि पितृ आज्ञा पालना गर्न राम वनवास जाँदा सँगै गएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको, रावणलगायत राक्षसमाथि विजय प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रूपमा सीताको सम्झना गरिन्छ ।

सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उनलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान दिएको छ ।

यस्तै सीता जयन्तीको अवसरमा मधेश सरकारले आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर