बारा,०९ पुस । आकर्षक तलबमा विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा बारा जिल्लाका एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ८ घर भई काठमाडौं भिमसेनगोला बस्ने ३५ वर्षीय सञ्जय साह बानियाँ रहेका छन् । साइप्रस पठाइदिन्छु भन्दै १ जनासँग ४ लाख ६० हजार रूपैयाँ लिएर उनी सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको टेकुबाट पक्राउ गरेको हो । त्यस्तै प्रहरीले आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा उदयपुर रौतामाई गाउँपालिका-३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ५३ वर्षीय यादबहादुर बुर्जामगरलाई पक्राउ गरेको छ ।
मगरले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितसँग ५ लाख ७५ हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।