कलैया,०६ चैत । जिल्ला प्रशासन कार्यालय बाराले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि कार्यालयको सेवा प्रवाहको समय थप गरेको छ।
प्रशासन कार्यालयले अब देखि बिहान ७ः३० बजेदेखि साँझ ७ बजेसम्म राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण संकलन हुने जनाएको छ।
विगत केही दिन देखि यस कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्याधिक बढेको हुँदा सेवाग्राहीहरुको सुविधा र सहजतालाई ध्यानमा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यस्तो ब्यवस्था लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ।
चैत ६ बुधबार देखि राष्ट्रिय परिचयपत्रको विवरण संकलन सम्बन्धी सेवा सार्वजनिक विदाको दिन बाहेक प्रत्येक दिन विहान साढे सात बजे देखि साँझ सात बजेसम्म कार्यालयबाट प्रवाह हुने व्यवस्था मिलाईएको सूचनामा बताइएको छ ।