कलैया,१८ वैशाख। “अस्पताल चलाउदा मलाई कहाँ सुधार गर्नुपर्ने छ त्यो सोचदिनु होला र पैसा मात्रै ठुलो कुरा होईन,सेवा सब भन्दा ठूलो कुरा हो” जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताएका छन्। जिल्ला प्रशासन कार्यालय बारामा बुधबार बसेको कलैया उपमहानगरपालिकाको कार्यक्षेत्र भित्र संचालित अस्पतालहरुको विविध विषयहरुमा आवश्यक छलफल तथा सहजीकरणका लागि समन्वय बैठकमा उनले यस्तो बताएका हुन्।
कतिपय निजि हस्पिटल भित्र बिल आउने बेला विकृति आएको उनले बताए। टोटल क्वान्टिटी म्यानेजमेन्ट रेगुलर सुधार गर्नुपर्ने उनले आग्रह गरे।“सरसफाइदेखि नागरिकले पाउनुपर्ने सेवा सुविधामा आजैदेखि नै परिवर्तन देखिनु पर्ने बताउनु भएको छ । मापदण्ड विपरीत गतिविधि वा समय सकेको औषधि फेला पर्यो भने कारवाही समेत गर्ने उनले बताए। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले वैशाख १३ गते शनिबार गरेको छड्के अनुगमनको उच्च सम्मान गर्दै अस्पतालहरुको सुधार गर्नुपर्ने प्रजिअ अधिकारीले बताए।
मेरो अस्पताल म आफै सुधार गर्छु भनी त्यसतर्फ ध्यानदिन र सेवा लिन जाउ जाउ भनी विरामीहरु सोच्ने सेवा दिन उनले आग्रह गरे। सहजीकरण र समन्वय गर्ने काम हामी गर्छौं,तर संगसंगै एक हप्तापछी चिकित्सक संघको समन्वयमा हामी अनुगमन समेत गर्छौं उनले बताए। जनताले सेवा सहज पाउने गरि वातावरण बनाउने कार्यमा लाग्नुपर्नेमा उनले जोड दिए।
त्यस्तै कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले मुख्यमन्त्री सतिश सिंहले गत शनिवार कुनै पनि अफिसियली होइन,जन्तिमा आएको शैलीमा अनुगमन गरेको बताएका छन्। “कलैया उपमहानगरपालिकाले १५ बेडको अनुमति दिएको छ,कारवाही गर्ने अधिकार मलाई दिनु मापदण्ड विपरीत संचालनमा रहेको हस्पिटललाई म आफै कारवाही गर्छु”उनले भने । निजि हस्पिटललाई मापदण्ड भित्र बसि सेवा दिन र नडराउन उनले आग्रह गरे।
नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज गुप्ताले दर्ता नभएको निजि अस्पताल बन्द गर्न आग्रह गरेका छन्। दण्डात्मक होइन सुधारात्मक लिनुपर्ने उनले बताए । मापदण्ड पूरा गर्न सबै अस्पताल सञ्चालकलाई उनले आग्रह गरे।त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङले केही डाक्टरहरुले घाउ जाँच फारम भर्दा पैसा खाएर हुँदै नभएको फारम भर्ने गरिएको बताएका छन्। प्रहरी उपरीक्षक तामाङले सामान्य चोट लागेकोलाई पनि आईसियुमा लगेर हुँदै नभएको विरामीको लाखौं रुपैयाँको बिल बनाउनेहरु सचेत हुन सबैमा आग्रह गरे।
उक्त छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह,प्रहरी उपरीक्षक सन्तोश तामाङ,जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव,नेपाल चिकित्सक संघ नारायणी शाखाका महासचिव डा.नौशाद हक,कलैया उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख अजय गुप्ता,निजि हस्पिटलका संचालक तथा डाक्टरहरु लगायतको उपस्थिति रहेको थियो ।
मुख्यमन्त्री सिंहले बन्द गराएका सबै निजी अस्पतालहरु २४ घण्टा वित्न नपाउदै गत आईतबार कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साहले स्थानीय पत्रकारसँग कुरा गर्दै ती अस्पतालहरू पुनः सञ्चालन गर्न निर्देशन दिएका थिए।