Friday, July 24, 2026

श्रीमतीलाई भगाएर लगेको रिसमा प्रेमीको हत्या, प्रेमिका सहित ६ जना पक्राउ 

सर्लाही, ०५ जेठ। सर्लाहीमा श्रीमतीलाई भगाएर लगेको रिसमा एकजना युवाको हत्या गरिएको छ। हत्या गरिएका युवा चन्द्रनगर गाउँपालिका वडा नं. १ किसनपुर निवासी २८ वर्षीय अरविन्द कुमार पण्डित रहेको प्रहरीले जनाएको छ।

मृतक युवाको शव सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ८ स्थित उखुबारीमा सडिसकेको अवस्थामा बैशाख ३० गते फेला परेको थियो । उक्त शव मृतकका दाजु अशोक कुमारले सनाखत गरेका थिए।

यस्तै वैशाख २४ गते घरबाट बेपत्ता भएका अरविन्दको हत्या गरेको आरोपमा प्रहरीले ईश्वरपुर नगरपालिका वडा नम्बर ६ का ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा वडा नं ६ चिरानटोल निवासी ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, सोही ठाउँका रजाक अंसारीका २९ वर्षीय छोरा मोस्तकिम अन्सारी, मोस्तकिमकी श्रीमती २५ वर्षीया नजिमा खातुन, आवास अंसारीको ४० वर्षीय छोरा सुयब अन्सारी, समसुर अंसारीको २५ वर्षीय छोरा कोनुर आलम अन्सारी र रजाक अंसारी कै ५४ वर्षीय छोरा सलाउद्दिन अन्सारी रहेका छन् ।

घटनाको विवरण: मोस्तकिम अंसारीले चैत २६ गते अरविन्दले आफ्नी श्रीमती (नजिमा खातुन) लाई भगाएको भन्दै इलाका प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन दिएका थिए । नजिमा चैत १९ गते राति ११ बजे घरबाट बेपत्ता भएकी थिइन् ।

मोस्तकिमले दिएको निवेदनका आधारमा खोजी गर्दै जाँदा प्रहरीले नजिमा र अरविन्द भारत पुगेको फेला पारेको थियो ।

प्रहरीको अनुसन्धानमा वैशाख १९–२० गते उनीहरू नेपाल फर्किएका देखाएको छ । उनीहरू घर फर्किएपछि स्थानीय समाज र पञ्चहरूको सहमतिमा नजिमा श्रीमान् मोस्तकिमसँगै बस्न थालेकी थिइन् । तर अरविन्द पण्डित बारम्बार नजिमाको घर आउजाउ गरिरहन्थे ।

अरविन्द आफ्नो घरमा आउजाउ गर्न थालेपछि स्थानीयहरूले समेत शंका गर्न थालेका थिए । जसका कारण नजिमा मानसिक तनावमा पर्दै जान थालिन् । सोही तनावका कारण नजिमासहित अन्य प्रतिवादीहरूले अरविन्दको हत्या गर्ने योजना बनाएका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार नजिमाले वैशाख २८ गते बिहान ८ बजे फूलजोर बाबा मन्दिर नजिकै पण्डितलाई बोलाएकी थिइन् । र अरविन्दलाई फूलजोर खोला नजिक लिएर गइन् । उनलाई अन्य प्रतिवादीहरूले पछ्याए । र बिहान ९ बजेतिर मिलेर हत्या गरे । त्यसपछि शवलाई सिसौको रूखको फेदमा घाँसपात र रहरको घस्यौटाले छोपिदिएका थिए।

फेरि भोलिपल्ट अर्थात् वैशाख २९ गते राति ९ बजे घटना सार्वजनिक हुने डरले उनीहरू घटनास्थल पुगे । र शवलाई उक्त स्थानबाट ईश्वरपुर नगरपालिका वडा नं. ८ स्थित थकरिया चौरीको उखुबारीमा लगेर फालिदिए ।

प्रहरीले जेठ २ गते सबै प्रतिवादीहरूलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा पक्राउ परेका मोहम्मद हुसेन मोमिनको खुट्टामा रहेको चप्पल मृतकले प्रयोग गर्दै आएको चप्पल भएको पुष्टि मृतकका पिताबाट भएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका सात जनालाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Press Release

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर