काठमाडौं, २० भदौ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले पर्साका एक सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने पर्साको विन्दावासिनी गाउँपालिका-५ घर भएका ३७ वर्षीय तुफायल मिया जोलाहा, काठमाडौंको कीर्तिपुर नगरपालिका-५ बस्ने ५३ वर्षीय सहनसिल महर्जन, ललितपुर बस्ने रौतहटको परोहा नगरपालिका-१ घर भएका २० वर्षीय बिक्रम साह र बाँकेको कोहलपुर नगरपालिका-१२ घर भएका २७ वर्षीया हरिकला खाँण ठकुरी (थापा) रहेका छन् ।
पक्राउ मध्ये तुफायलले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३० हजार रूपैयाँ, सहनसिलले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख २५ हजार रूपैयाँ, बिक्रमले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ र हरिकलाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तुफायललाई काठमाडौं महानगरपालिका-२६ बाट बुधबार तथा सहनसिललाई काठमाडौं कीर्तिपुर नगरपालिका-५ बाट, बिक्रमलाई काठमाडौं महानगरपालिका-३२ बाट र हरिकलालाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।