Sunday, July 19, 2026

बारामा रात्रीकालीन सार्वजनिक सवारी साधन सञ्चालनमा रोक

कलैया, १८ असोज। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १८ देखि २० गतेसम्म मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले बारामा रात्रीकालीन सार्वजनिक सवारी साधन (नाइट बस) सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गर्दै यस्तो जनाएको हो। सूचनामा सम्भावित विपद् (बाढी, पहिरो, डुवान) बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिएका छन।

आज असोज १८ गतेदेखि वर्षा भइरहेको र अझै २० गतेसम्म वर्षा जारी रहने देखिएकाले प्रशासनले अत्यावश्यक बाहेक अन्य लामोदूरीको यात्रा नगर्न आग्रह गरेको छ। विशेषगरी रातको समयमा बाराबाट संघिय राजधानी काठमाडौं लगायतका स्थानमा चल्ने सवारी साधन नचलाउन र टिकट समेत काट्न पूर्ण रोक लगाइएको प्रशासनले जनाएको छ।

पहाडी भूभागमा पहिरो जाने सडक अबरुद्ध हुने तथा तराई भूभागमा नदीनालामा बाढी आउन सक्ने तथा डुवानको खतरा हुने भएकाले लामो दूरिका सवारी साधान नचलाउन प्रमुख जिल्ला अधिकारी पौडेलद्वारा जारी सूचनामा उल्लेख छ। यसलाई कडाइका साथ कार्यान्वयन गर्न ट्राफिक प्रहरी, नेपाल प्रहरी र स्थानीय निकायलाई जिल्ला प्रशासनले निर्देशन समेत दिएको छ।

वर्षाका कारण हुने सम्भावित डुवान, बाढी तथा पहिरो जस्ता विपद् न्यूनीकरण गर्न सुरक्षा निकायहरूलाई आवश्यक उद्धार सामग्री सहित तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन। विपद् सम्भावना हुँदा सरकारी निकाय, गैरसरकारी संस्था, राजनीतिक दल, रेडक्रस, सामाजिक संघसंस्था, नेपाल स्काउट तथा आम नागरिकलाई क्षति न्यूनीकरणमा सहयोग पुर्‍याउन आग्रह गरिएको छ। साथै विपद् घट्न सक्ने सम्भावित स्थानबारे नागरिकलाई सचेत बनाउन सबैमा प्रशासनले अपिल गरेको छ।

प्रशासनले जारी गरेको ९ बुँदे सूचना

१ मिति २०८२ साल असोज १८ गते देखि वर्षा हुन सुरु भएको र असोज २० गतेसम्म भारी वर्षातको संभावना पूर्वानुमात्त रहेकोले अत्यावश्यक काम परेकोमा बाहेक सुरक्षित रुपमा आफू बसोबास गरिरहेको स्थानमा बस्नु हुन र यात्रामा ननिस्किनु हुन ।

२ रात्रीको समयमा पहाडी भूभागमा पहिरो आई सडक अवरुद्ध हुन सक्ने एवं तराई भूभागमा बाढीको कारण यात्रा अवरोध हुन सक्ने र धनजनको क्षती हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै लामो दूरीका सवारी साधनहरु नचलाउनु हुन। रात्रीको समयमा बारा जिल्लाका विभिन्न स्थानवाट काठमाडौं लगायतका स्थानमा चल्ने सवारी साधन (सार्वजनिक यात्रुबाहक साधन वस, जीप, EV, टाटा सुमो समेत र निजी सवारी साधन जीप, कार, मोटरसाईकल, मालबाहक सवारी साधन नचलाउनु हुन यात्रुवाहक सावरी साधनमा टिकट नकाट्नु हुन अनुरोध छ र यस व्यवस्थाको लागि ट्राफिक प्रहरी, नेपाल प्रहरीका राजमार्ग किनारका ईकाइहरुले अनुगमन, निरीक्षण गरी कार्यान्वयन गर्नु गराउनु हुन ।

३ वर्षातको जोखिम भएका माथि उल्लेखित अवधिमा अति जरुरी अवस्थामा सार्वजनिक सवारी साधनमा दिउँसोको समयमा मात्र यात्रा गर्ने, यात्रुको नाम, ठेगाना र सम्पर्क नम्बर यातायात व्यवसायीले ट्राफिक प्रहरीलाई उपलब्ध गराउनु हुन र निजी सवारी साधनको हकमा राजमार्ग किनारको प्रहरी इकाईमा टिपाउनु हुन ।

४ वर्षातको कारण हुन सक्ने डुबान, बाढी पहिरो जस्ता विपद्धन्य घटनाबाट हुने न्यूनिकरण गर्न जिल्ला स्थित सुरक्षा निकायको जनशक्ति र राहत उद्दारमा खटिदाँ आवश्यक पर्ने सामग्री तयारी अवस्थामा राखिएको हो। स्थानीय तहहरुले आफूसँग भए‌को विपद्न्य घटना उद्दार

कार्यमा आवश्यक पर्ने सामग्री नजिकको प्रहरी इकाईमा उपलब्ध गराउनु हुन वा तयारी अवस्थामा राखी सोको विवरण नजिकको प्रहरी इकाईमा उपलब्ध गराईदिनुहुन ।

५ विपद्धन्य घटनाबाट हुने क्षति न्यून गर्न खोला नदी एवं ढल नजिकका वस्ती एवं डुवान हुन सक्ने भनी नक्साङ्कन पूर्वानुमान गरिएका वस्तीका वासिन्दाले विषेश सुरक्षा सावधानी अपनाउनु हुन साथै सम्भव भएसम्म स्थानीय तहले यस्ता वस्तीलाई उल्लेखित अवधिका लागि अन्यत्र स्थानान्तरण गर्ने व्यवस्था मिलाउनु हुन ।

६ सडक डिभिजन कार्यालय, स्थानीय तहहरुले आ-आफ्नो डोजर एक्साभेटर लगायतका उपकरण इन्धन सहित सुरक्षा निकायले राहत र उद्दारको कामका लागि खोजेको बखत सुरक्षा निकायलाई उपलब्ध गराउने गरी तयारी अवस्थामा राखु हुन।

७ पूर्व तयारी र प्रतिकार्यमा सहयोग गर्ने सबै साँझेदार संस्थाहरु जिल्ला विपद व्यवस्थापन समिति तथा स्थानीय विपद व्यवस्थापन समितिको नियमित समन्वय र सम्पर्कमा रही सतर्क अवस्थामा रहने, जिल्लाको मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुरुप आ-आफ्नो निकायबाट हुने सहयोग पुऱ्याउनु हुन।

८ विपद्‌को समयमा सबै सरकारी निकाय, गैर सरकारी संघ संस्था, राजनैतिक दल, नेपाल रेडक्रस सोसाईटी, नेपाल स्काउट र आमनागरिक एकजुट भै विपद्बाट हुन सक्ने धनजनको क्षति न्यून गर्न समन्वयात्मक ढंगले उद्दार र राहतमा खट्नु । सञ्चार क्षेत्रमा सक्रिय सञ्चारकर्मीहरुबाट विपद्धन्य घटनाबाट क्षति हुन नदिन सूचना संप्रेषण गरी आम नागरिकलाई सु-सूचित गराउन र तत्काल उद्दार कार्यमा सहयोग पुर्याउनु हुन अनुरोध गर्दछु।

९ बाढी पहिरो, डुबान जस्ता विपद्धन्य घटना घटेमा तत्कालै नजिकको प्रहरी इकाई वा स्थानीय तह वा जिल्लास्थित सुरक्षा निकाय वा नेपाल प्रहरीको कन्ट्रोल नं १०० मा सम्पर्क गर्नु हुन ।

May be an image of text

May be an image of ticket stub and text

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर