Thursday, September 3, 2026

कलैया सिद्धेश्वर खेल मैदानको विकासका लागि खेलकुद मन्त्री गुप्तालाई ध्यानाकर्षण

Advertisement
Advertisement Advertisement

कलैया, २६ कात्तिक। बाराको कलैयास्थित सिद्धेश्वर खेल मैदानको व्यवस्थापन र पूर्वाधार विकासका लागि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको ध्यानाकर्षण गराइएको छ। बारा जिल्लाका युवा सुभम सिंहले बुधबार मन्त्रालय पुगेर मन्त्री गुप्तालाई ज्ञापनपत्र बुझाउँदै मैदान सुधारका लागि तत्काल पहल गर्न आग्रह गरेका हुन्।

ज्ञापनपत्रमा कलैया क्रिकेट क्लबलगायत स्थानीय खेलाडीहरूले लामो समयदेखि प्रयोग गर्दै आएको सिद्धेश्वर खेल मैदानको अवस्था जर्जर रहँदै आएको र आधारभूत पूर्वाधार अभावका कारण खेलाडीहरू कठिनाइमा परेको उल्लेख छ। मैदानमा पर्याप्त सरसफाइ, सिँचाइ, दर्शकदीर्घा, शौचालय, वार्मअप क्षेत्र र प्रशिक्षण उपकरण नहुँदा खेलाडीहरूले अभ्यास र प्रतियोगिता सञ्चालनमा कठिनाइ भोग्दै आएका छन्।

बारालाई नेपालको खेलकुद इतिहासमा महत्वपूर्ण योगदान दिने जिल्लाका रूपमा उल्लेख गर्दै स्थानीय खेलाडी र प्रशिक्षकहरूको मुख्य अभ्यासस्थलका रूपमा सिद्धेश्वर खेल मैदान रहेको सिंहले बताएका छन् ।

“कलैयाको सिद्धेश्वर खेल मैदान खेलकुद प्रतिभा निखार्ने मुख्य केन्द्र हो, तर पूर्वाधारको अभावले यसको महत्व घट्दै गएको छ। सरकारी सहयोग विना यसलाई दिगो रूपमा विकास गर्न कठिन छ।” सिंहले मन्त्री गुप्तालाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ

कलैया क्रिकेट क्लबले आफ्नै प्रयासमा केही क्रियाकलाप सञ्चालन गरे पनि दीर्घकालीन व्यवस्थापनका लागि सरकारी बजेट र योजनाबद्ध लगानी आवश्यक रहेको सिंहले बताएका छन्। सिंहले मन्त्री गुप्तालाई आगामी बजेटमा सिद्धेश्वर खेल मैदानको स्तरोन्नति र पूर्वाधार विस्तारका लागि विशेष रकम छुट्याउन अनुरोध गरेका छन्। उनले मन्त्रीको पहलबाट बाराको खेलकुद क्षेत्रमा नयाँ ऊर्जा र आशा जाग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर