Sunday, July 19, 2026

कलैयामा पार्किङ अव्यवस्था: अब कानुनी व्यवस्था र अनिवार्य कार्यान्वयनको खाँचो

सुनील कुशवाहा

कलैया, १५ मंसिर। कलैया बजार, अदालत रोड र जिल्ला प्रहरी प्रशासन कार्यालय वरिपरिका सडकहरू अहिले सवारीको अव्यवस्थित पार्किङले थुनिएका छन्। मोटरसाइकल, टेम्पो, ट्रक, निजी सवारी साधनहरू जहाँतहीँ रोकेर राखिने प्रवृत्तिले ट्राफिक जाम मात्र होइन, सवारी दुर्घटना र सवारी चोरीका घटनासमेत बढाएको छ। यस समस्याको दीर्घकालीन समाधानका लागि अब स्थानीय तह, प्रहरी प्रशासन र सम्बन्धित निकायले संयुक्त रूपमा कानुनी र संरचनात्मक पहल गर्नुपर्ने भएको छ।

समस्या के हो ?

कलैया बजार आसपासका व्यापारिक प्रतिष्ठानहरू, सरकारी कार्यालय र सेवा केन्द्रहरूमा दैनिक हजारौं सवारी आवतजावत गर्छन्। तर ती सवारी पार्किङ गर्ने व्यवस्थित ठाउँ छैन। निजी तथा सार्वजनिक जग्गाहरूमा अत्याधिक मूल्य तिरेर पनि पार्किङ गर्न नपाउने अवस्था छ। फलस्वरूप, सडकमै सवारी रोक्नुपर्ने बाध्यता छ। यसले सडक साँघुरो बनाउँछ, दुर्घटना बढाउँछ र सवारी चोरीजस्ता अपराधलाई बढावा दिन्छ।

समाधानका उपायहरू

१. कानुनी व्यवस्था गर्नुपर्ने: कलैया उपमहानगरपालिकाले तत्काल ‘सवारी पार्किङ तथा व्यवस्थापन ऐन’ ल्याउनुपर्छ। जसमा कलैया बजार क्षेत्रभित्र आउने सम्पूर्ण सेवा सवारी (टेम्पो, ट्याक्सी, मालबाहक, निजी सवारी) लाई अनिवार्य रूपमा निर्धारित पार्किङ क्षेत्रमा राख्नुपर्ने व्यवस्था गरियोस्। पार्किङ नगरी सडकमा सवारी रोक्नेलाई तत्काल जरिवाना र सवारी नियन्त्रण गर्ने प्रावधान राखियोस्।

२. निजी तथा सार्वजनिक जग्गा प्रयोग: कलैया बजार वरिपरि रहेका निजी जग्गा धनीहरूलाई प्रोत्साहनस्वरूप कर छुट वा लिजमा आय आर्जनको अवसर दिई ती जग्गा अस्थायी वा स्थायी पार्किङ क्षेत्रका रूपमा प्रयोग गरियोस्। साथै, नगरपालिकाले आफ्नो स्वामित्वमा रहेका खाली जग्गाहरूलाई तत्काल पार्किङ क्षेत्रका रूपमा विकास गरियोस्।

३. सेवा सवारीहरूको प्रवेश व्यवस्थापन: बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कलैया बजार क्षेत्रमा प्रवेश गर्ने सम्पूर्ण सेवा सवारीहरूलाई निर्धारित पार्किङ क्षेत्रबाट मात्र सेवा प्रदान गर्न अनिवार्य गरियोस्। सडक किनारमा सवारी रोक्न पूर्ण प्रतिबन्ध लगाइयोस्।

४. डिजिटल अनुगमन र प्रहरी संलग्नता: पार्किङ क्षेत्रहरूमा सिसिटिभी क्यामेरा जडान गरियोस् र प्रहरीलाई अनुगमनको जिम्मेवारी दिइयोस्। सवारी चोरी रोक्न र ट्राफिक अनुशासन कायम गर्न यो उपाय प्रभावकारी हुनेछ।

कलैया बजारको ट्राफिक समस्या र सवारी चोरीजस्ता अपराधहरू समाधान गर्न अब केवल जनचेतना होइन, कानुनी दायरा र दण्डात्मक कार्यान्वयन आवश्यक छ। उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय र स्थानीय व्यापारीहरूको संयुक्त पहलमा तत्काल पार्किङ ऐन ल्याई कार्यान्वयन गरियो भने कलैया सहर सडक दुर्घटना, जाम र चोरीमुक्त बन्न सक्छ। अब ढिला नगरौं, समयमै कदम चालौं सहर सफा, सुरक्षित र व्यवस्थित बनाउन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर