कलैया, २५ मंसिर। नेपाल र भारतमा यस्ता थुप्रै पर्व छन्, जुन समानान्तर रूपले दुबै देशमा उत्तिकै धुमधामका साथ मनाइन्छ।
दिपावली पनि त्यस्तै एउटा पर्व हो, जसलाई नेपालको पहाडी क्षेत्रमा तिहार र तराई मधेशमा ‘दीपावली’ भनिन्छ। भारतमा मनाइने यही ‘दीपावली’ पर्व बुधबार युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदाका रूपमा सूचीकरण भएको छ।
भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्लामा आयोजित युनेस्कोको एक बैठक क्रममा दीपावलीलाई अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समावेश गर्ने निर्णय भएको हो। अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी अन्तरसरकारी समितिको उक्त कार्यक्रममा युनेस्कोले दीपावली पर्वलाई सूचीमा समावेश गरिएको घोषणा गरेको थियो।
‘उज्यालोको पर्व’ का रूपमा लिइने यो चाडको सांस्कृतिक विविधता भारतमा र नेपालमा धेरै छ।
भारतसँगै नेपालको यति गहिरो सांस्कृतिक विविधतायुक्त दिपावली पर्व भारतको अमूर्त सांस्कृतिक सम्पदाका रूपमा मात्र सूचीकरण हुनुले अन्तर्राष्ट्रिय जगतको आँखाबाट हेर्दा यो भारतीय संस्कृति मात्र हो भन्ने बुझिन सक्छ।
नियम अनुसार सम्बन्धित मुलुकले आफूकहाँ मनाइने यस्ता सांस्कृतिक चाडपर्वलाई अमूर्त सम्पदाका रूपमा सूचीकरण गर्न सबभन्दा पहिला युनेस्कोमा प्रस्ताव पठाउनुपर्छ। उक्त पर्वको सांस्कृतिक इतिहास र त्यो पर्व समाजसँग कसरी जोडिन्छ भन्ने विवरण पूर्ण रूपमा खुलाएर पठाउनुपर्ने त्यस्तो प्रस्तावमाथि युनेस्को सदस्य राष्ट्रहरूले गहन छलफल गरेपछि सूचीकरण गर्ने कि नगर्ने निर्णय गरिन्छ।
महापर्व छठ पनि भारतको विश्व सम्पदा हुन सक्ने डर
पहिले पहिले छठ पर्व मधेसमा मात्र मनाइन्थ्यो, अहिले देशैभरि धुमधामका साथ मनाइन्छ। छठसँग मधेस क्षेत्रको सांस्कृतिक इतिहास र सामाजिक जीवन जोडिन्छ। यही पर्व भारतको बिहार, उत्तरप्रदेश लगायत विभिन्न राज्यमा पनि धुमधामका साथ मनाइन्छ।

अहिले जसरी भारतले आफूकहाँ मनाइने दीपावलीलाई युनेस्को अमूर्त सम्पदा सूचीमा समावेश गरायो, त्यसरी नै भोलि छठ पर्वलाई पनि त्यो सूचीमा राख्न प्रस्ताव पठाउन सक्ने डर छ। त्यसबीच नेपालले कुनै तयारी गरेन भने छठ पनि भारतीय संस्कृतिका रूपमा मात्र सूचीकरण हुनेछ। अहिलेको घटनाबाट पाठ सिक्दै भारतसँग मिलेर वा एक्लै पनि छठलाई अमूर्त सम्पदाका रूपमा सूचीकरण गर्न प्रस्ताव बढाउन सकिने विज्ञहरुको भनाइ छ।
भारतसँग मिलेर जाने हो भने कूटनीतिक पहल हुनुपर्ने खाँचो छ। त्यस्तै, नेपालमा मनाइने कतिपय बौद्ध परम्परा चीनको तिब्बत र भुटानसँग मिल्दाजुल्दा छन्। त्यसलाई युनेस्को सूचीमा सामेल गर्न नेपालले क्षेत्रीय स्तरमा पहल गर्न सक्ने विज्ञहरुको भनाइ छ।
क्षेत्रीय स्तरमा संयुक्त रूपले सूचीकरण गराउन बहुपक्षीय प्रस्ताव तयार पार्नुपर्छ र बहुपक्षीय रूपमै युनेस्कोमा दर्ज गराउनुपर्छ।
भारतको १५ वटा पर्व विश्वसम्पदा सूचीमा
भारतले अहिलेसम्म युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा दीपावलीसहित १५ वटा संस्कृति समावेश गरेको छ।
यसमा कुम्भ मेला, कोलकाताको दुर्गा पूजा, गुजरातको गरबा नृत्य, योग, वैदिक मन्त्र उच्चारणको परम्परा तथा ‘रामायण’ महाकाव्यको परम्परागत नाट्य प्रस्तुति रामलीला पनि पर्छन्।
यसमा योग र वैदिक मन्त्र उच्चारणको परम्परा नेपालमा पनि प्रचलित छ। तर नेपालले युनेस्को सूचीमा सामेल गराउन पहल गरेन। सरकारी पहल नभएकैले नेपालका कुनै पनि अमूर्त सम्पदा युनेस्को सूचीमा समावेश भएका छैनन्।
















