वीरगन्ज, २९ मंसिर। निजी जग्गामा बाटो नदिएको निहुँमा पर्सामा दलितको घरमा आगजनी तथा जग्गा धनीलाई कुटपिट गरिएको छ भने आगजनीबाट लाखौंको सामान जलेर नष्ट भएको छ।
जिल्लाको बहुदरमाई नगरपालिका वडा नं २ सिसियाडिहमा जग्गाको विवाद हुँदा स्थानीय भागरित पासवानको घरमा आगजनी गरिएको हो।
आगजनीबाट उनको घरमा ६० हजार रुपैयाँ बराबरको २० क्विन्टल धान, २५ हजार रुपैयाँ बराबरको ५ क्विन्टल गहुँ, ३ लाखबराबरको सुनको गहना लुटपाट, एकलाख ५० हजार नगद लुटपाट, ५० हजार बराबरको कपडा, ३० हजार बराबरको भाँडाकुँडा, ३० हजार बराबरको दुईवटा ढोका जलेर नष्ट, १० लाख बराबरको घरको घरमा क्षति गरी १६ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको पिडित परिवारले जनाएको छ।
जग्गा विवाद र दलित भनेर गालीगलौज
पिडित भागरित पासवानलाई बाटोको लागि विपक्षीहरुले पासवानले शिवजी प्रसाद यादवसंग किनेको साविक गाविस बैरियाविर्ता वडा नं १ किता नम्बरको जग्गाको पछाडि विपक्षीहरुको घरजग्गा रहेकोले आफुहरुलाई जानआउनको लागि नम्बरी जग्गामा बाटो दिन र उक्त बाटोलाई सार्वजनिक बाटोको रूपमा बनाईदिनु पर्छ भन्दै मंसिर २७ गते धाकधम्की दिएका थिए।
धाकधम्की पश्चात् पिडित भागरित पासवानले हाम्रो नम्बरी जग्गा हो। ब्यवहार मिलेसम्म तपाईंहरुलाई आउने जाने गर्ने दिएको थिएँ। अब तपाईंहरु हामीलाई दलित हेला गरिराख्नु भएको छ। तपाईंहरुको बाटो छुट्टै रहेकोले अब हाम्रो नम्बरी जग्गामा आउन जान छोडिदिनुहोस् भनेका थिए।
तत्पश्चात विपक्षीहरु मध्ये भुवाली प्रसाद यादवले “यो सालाहरुको धेरै मन बढिसकेको छ। तिमी दलितहरुलाई यहाँबाट लखेट्नै पर्छ।” भनि गालीगलौज दिएको पिडितका छोरा कविरा पासवानले जिल्ला प्रहरी कार्यालय पर्सालाई दिएको निवेदनमा उल्लेख छ।
श्रीमान्-श्रीमतीलाई कुटपिट
भुवाली यादवले दिएको गालीगलौज पश्चात् विपक्षी मध्येका एकजना जोगिन्दर ठाकुर लोहार र राजिन्दर ठाकुर लोहारले आफ्नो घरमा गई गिलनमा रहेको पेट्रोल डिजेल ल्याई घरमा पसेर सरसामान तितरबितर गरी पेट्रोल र डिजेल छरेर भोला ठाकुर लोहारले लिएको माचिसबाट आगजनी गरेका थिए।
यस्तै आगजनी भएपछि मेरो घरमा किन आगो लगाउनु भयो भनेर पिडित भागरित पासवान र उनको श्रीमति मिना देवीलाई अर्का विपक्षी चान्सी ठाकुर हजाम, हरिन्दर ठाकुर लोहार, जगु पण्डित लोहार र हरिशंकर ठाकुर लोहारले घेरामा हाली श्रीमान्-श्रीमतीलाई बाँसको लाठीले अन्धाधुन्ध प्रहार गरेका थिए भने अर्का विपक्षी भोला ठाकुर लोहारले हातमा लिएको फलामको छडले टाउको फुटाउने गरी निर्घात कुटपिट गरेका थिए।
घाईते भागरित पासवान र उनकी श्रीमती मिना देवीको नारायणी अस्पतालमा उपचार भइरहेको छ। यस विषयमा पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजु कार्कीसंग बारा अपडेटले बुझ्न खोज्दा उनले कारवाही प्रक्रिया अगाडि बढेको र प्रहरी परिचालन गरी थप अनुसन्धान गरिरहेको प्रतिक्रिया दिएका छन्।
















