Friday, June 5, 2026

बारामा दुई दिवसीय मधेश बालिका सम्मेलन २०२६ सुरु

spot_img

कलैया : बारामा दुई दिवसीय मधेश बालिका सम्मेलन २०२६ सुरु भएको छ । बारा जिल्लाको सिमरास्थित क्लासिक प्लाजा होटेलको सभाहलमा बालविवाह विरुद्ध प्रदेशस्तरीय संजाल मधेस प्रदेशद्वारा आयोजित “ मधेश बालिका सम्मेलन २०२६ “ आजदेखि सुरु भएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले बालविवाह रोक्न विवाह गर्नु पुर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।

नेपाल र भारतसंग बेटीरोटीको सम्बन्ध भएतापनि नेपालकी किशोरीको भारतमा बिहे गर्दा वैधानिक हुने तर त्यहि बिहे नेपालमा हुदा अवैधानिक हुने उनले बताए। किशोरीहरु शिक्षित भएको हुनाले बालविवाह हुने आफ्नो घर–समाजमा प्रतिकार गर्नुपर्ने आवश्यक देखिने उनले जनाएका हुन्।

उक्त कार्यक्रममा इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्रप्रसाद कंडेल,इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशी,नीति तथा योजना आयोगकी सदस्य डा. रिना यादव र महिला मानव अधिकारकर्मी निभा सिंहले सम्बोधन गरेका थिए।

‘सक्षम बालिका, समृद्ध मधेश’ भन्ने नारासहित सिमरामा दुई दिवसीय मधेश बालिका सम्मेलन सुरु भएको हो। सम्मेलनमा मधेश प्रदेशका आठ जिल्लाबाट ९० जनाभन्दा बढी किशोरकिशोरी सहभागी छन्। प्रत्येक जिल्लाबाट ६ जना किशोरी र २ जना किशोरको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

सम्मेलनले बालिकाहरूमा नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक विकृतिविरुद्ध आवाज उठाउने प्रेरणा दिने विश्वास गरिएको छ। कार्यक्रममा किशोरकिशोरीहरूले बालविवाह र दाइजो प्रथाविरुद्ध सचेतनामूलक नाटक समेत प्रस्तुत गरेका हुन्। दुई दिने सम्मेलनमा मानसिक स्वास्थ्य, साइबर सुरक्षा, खुला सिमानाबाट उत्पन्न जोखिम, दाइजो प्रथा तथा बालविवाह रोकथामका विषयमा रणनीतिक छलफल हुने हाम्रो प्रयास संस्थाका ओमप्रकाश गिरीले जानकारी दिएका छन्।

बाल विवाहविरुद्ध प्रदेश स्तरीय सञ्जालको आयोजनामा सुरु भएको सम्मेलनमा हाम्रो प्रयास, सखी, लाइफ नेपाल, महिला सचेतना समूह, दलित विकास फोरम, मुक्ति नेपाल र परिकल्पना नेपाल सहआयोजक रहेका हुन्। बालिका सम्मेलन कार्यक्रमकी संयोजक सन्ध्या पटेलको अध्यक्षतामा सो उद्घाटन सम्पन्न भएको हो। उद्घाटन समारोहको सहजीकरण मोरियम खातुनले गरेकी थिईन्। कार्यक्रम संयोजक प्रसंशा सिंहले सम्मेलनको उद्देश्यबारे प्रकाश पारेकी थिईन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर