कलैया,०५ माघ । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन बारामा सरोकारवाला निकायहरूबीच आपसी समन्वय र सहकार्यलाई प्राथमिकतामा राख्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा आइतबार जिल्ला समन्वय समिति बाराको सभाहलमा सञ्चारकर्मीसँग समन्वय बैठक सम्पन्न भएको हो। बैठकमा चारै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरूले निर्वाचनसम्बन्धी सूचना प्रवाहलाई छरितो, पारदर्शी र समयमै गरिने प्रतिवद्धता जनाए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले भारतसँग खुला सीमा जोडिएको संवेदनशील जिल्ला भएकाले बाराका लागि विशेष सुरक्षा योजना २०८२ तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए। निर्वाचनलाई लक्षित गरी एकीकृत सुरक्षा व्यवस्था लागू गरिने र सबै सुरक्षा निकायबीच समन्वय मजबुत बनाइएको उनले बताए।
प्रमुख जिल्ला अधिकारी मिश्राका अनुसार निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त परिचालन गरिनेछ। साथै, निर्वाचन बिथोल्ने उद्देश्यले फैलाइने अफवाह र भ्रामक सूचना नियन्त्रणका लागि सामाजिक सञ्जाल निगरानी टोलीसमेत गठन गरिएको छ। शंकास्पद सामग्री भेटिएमा त्यसको स्क्रिनसट प्रशासन वा प्रहरी नेतृत्वलाई उपलब्ध गराउन नागरिक तथा सञ्चारकर्मीलाई आग्रह गरिएको छ।
सुरक्षा निकायका प्रतिनिधिहरूले निर्वाचनलाई प्रभावित पार्न सक्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट गर्दै राजनीतिक दल, स्थानीय तह र नागरिक समाजको सक्रिय सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गरे। कुनै पनि असामान्य गतिविधि देखिएमा तत्काल सूचना दिन सबैलाई अनुरोध गरिएको थियो।
स्थानीय तहका प्रतिनिधिहरूले मतदान केन्द्र व्यवस्थापन, मतदाता शिक्षा र सहज मतदान वातावरण निर्माणमा प्रशासनसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए। राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिता पालना गर्ने, समर्थकलाई संयमित बनाउने र मर्यादित प्रतिस्पर्धामा जोड दिने बताएका छन्।
नागरिक समाज र सञ्चारकर्मीहरूले तथ्यमा आधारित सूचना प्रवाह, अफवाह नियन्त्रण र सामाजिक सद्भाव कायम गर्न जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहो-याए। निर्वाचनका समयमा उत्तेजक अभिव्यक्ति र भ्रामक समाचारले समाजमा नकारात्मक असर पार्न सक्ने भएकाले सचेत रहनुपर्नेमा उनीहरूको जोड थियो।
बैठकको निष्कर्षमा निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा सफल बनाउन निरन्तर संवाद, सूचना आदान–प्रदान र आपसी विश्वास आवश्यक रहेको ठहर गरिएको छ। शान्ति, सहकार्य र निष्पक्षतालाई मूल आधार मानेर निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता बैठकले दोहो¥याएको छ।
मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र कुमार साह, प्रहरी उपरीक्षक नरेन्द्र कुंवर, सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी, श्री रिपुमर्दन गणका प्रमुख सेनानी अशोक कुमार क्षेत्री, राष्ट्रिय अनुसन्धान कार्यालय बाराका उपनिर्देशक सरोज निरौला, जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीलगायतको सहभागिता रहेको थियो।
यसैबीच, मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबारै राजनीतिक दलका प्रतिनिधिहरूसँग छुट्टै छलफलसमेत गरेको जनाएको छ। बारामा रहेका ३ सय ५ मतदानस्थलमध्ये १ सय ४५ अतिसंवेदनशील, १ सय ८ संवेदनशील र ५२ सामान्य मतदानस्थल रहेको प्रमुख जिल्ला अधिकारी मिश्राले जानकारी दिए।





