Monday, July 20, 2026

बारामा सशस्त्र प्रहरी बलको २५ औँ स्थापना दिवस तथा रजत महोत्सव मनाइयो

कलैया,०९ माघ । सशस्त्र प्रहरी बल नेपालको २५ औँ स्थापना दिवस( रजत महोत्सव) बारामा विविध कार्यक्रमसहित मनाइएको छ। बाराको कलैया उपमहानगरपालिका –१६ स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणको परिसरमा विशेष समारोहको आयोजना गरी आज सशस्त्र प्रहरीले उक्त स्थापना दिवस मनाएको हो।

सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका निमित्त गणपति तथा सशस्त्र प्रहरी नायब उपरीक्षक बिक्रममणि अधिकारीले दिवंगत सशस्त्र प्रहरीहरूको शालिकमा फूलमाला अर्पण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए। उक्त अवसरमा उनले सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालको शुभकामना सन्देश वाचन समेत गरेका हुन् ।

रजत महोत्सवको अवसरमा गण तथा मातहतमा रही सशस्त्र प्रहरी बल नेपालमा २५ वर्षभन्दा बढी सेवा प्रदान गरेका सशस्त्र प्रहरी निरीक्षक, नायब निरीक्षक, सहायक निरीक्षकसहित ३८ जना सशस्त्र प्रहरी कर्मचारीलाई सिल्भर जुबली कमिटमेन्ट मेडलद्वारा सम्मानसहित मेडल निमित्त गणपति अधिकारीले प्रदान गरेका छन् ।

यसै अवसरमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, कवहीमा सञ्चालन गरिएको लागूऔषध, सीमा सुरक्षा र युवा विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने शशी यादव, द्वितीय हुने शान्या यादव र तृतीय हुने आकृति यादवलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त गणपति अधिकारीले सशस्त्र प्रहरी बल नेपालको इतिहासमा २५ औँ स्थापना दिवस अत्यन्तै गौरवपूर्ण दिन भएको जनाए।सशस्त्र प्रहरी बल नेपाल केवल सुरक्षा संगठन मात्र नभई राष्ट्रप्रति समर्पित, अनुशासित शक्ति र जनताको भरोसाको प्रतीक भएको उनको भनाइ थियो। सीमा सुरक्षा, आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, उद्धार, राहत तथा सहकार्यका सबै क्षेत्रमा सशस्त्र प्रहरी बलले पु-याएको योगदान स्मरणीय रहेको उनले बताए। २५ वर्षसम्म निष्ठा, इमानदारी र अनुशासनका साथ सेवा प्रदान गर्ने भूतपूर्व तथा सेवारत सशस्त्र प्रहरी कर्मचारीहरूलाई सम्मान गर्न पाउँदा गर्वको अनुभूति भएको अधिकारीले बताए।

गणका निमित्त गणपति अधिकारीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक इन्द्रजंग थापा, उमेशकुमार आले, नायब निरीक्षक, सहायक निरीक्षक लगायत सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी सहायक निरीक्षक बिक्रम पौडेलले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर