Thursday, June 4, 2026

अधुरा विकास योजना पूरा गर्न मेरो उम्मेदवारी : रामबाबु यादव

spot_img

कलैया, ०१ फागुन। बारा निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी बढेसँगै जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार एवं पूर्व सांसद रामबाबु कुमार यादवले आफ्नो विकास एजेन्डाहरू सार्वजनिक गर्दै चुनावी अभियानलाई तीव्र पारेका छन्। उनले आफ्नो अधुरा विकास योजनाहरू सम्पन्न गर्नका लागि आफूलाई जनताले पुनः निर्वाचित गर्ने विश्वास व्यक्त गरेका छन्। ।

कलैया उपमहानगरको विभिन्न वडाको धरदैलो अभियानमा बोल्दै यादवले आफ्नो २०७४ सालको कार्यकालमा सुरु गरिएका गौरवका आयोजनाहरू निर्वाचनको परिणामका कारण अलपत्र परेको दुखेसो पोखे । विशेषगरी जिल्लाकै ऐतिहासिक शैक्षिक धरोहर रामराजा मोहन विक्रम साह बहुमुखी क्याम्पसको भवन निर्माण कार्यलाई पूर्णता दिनु आफ्नो मुख्य संकल्प रहेको उनले स्पष्ट पारेका छन्। “मैले २०७६ सालमा ७ करोडको लागतमा आधुनिक भवनको शिलान्यास गरेको थिएँ, तर मेरो कार्यकालपछि जम्मा १ करोड ७५ लाखको काम भएर योजना अलपत्र पारियो। यो अधुरो सपना पूरा गर्ने जिम्मेवारी अब मेरो काँधमा छ,” यादवले भने।

शिक्षा क्षेत्रमा मात्र नभई स्वास्थ्य र कृषिमा पनि आफ्नो ठोस योगदान रहेको दाबी गर्दै यादवले डुमरवानामा हात्तीसार बहुमुखी क्याम्पसको स्थापना र उत्तर झिटकैयामा विद्यालय भवन निर्माणका लागि २५ लाखको बजेट सुनिश्चिततालाई आफ्नो प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो।

यादवले आफू सांसद नभएको अवस्थामा पनि शिक्षा क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको तथ्य प्रस्तुत गरे। उनले भने, “सांसद पदमा नभए पनि जनताप्रतिको मेरो उत्तरदायित्व कम भएन। गत एक वर्षअघि मात्र मेरो विशेष पहलमा डुमरवानामा ‘हात्तीसार बहुमुखी क्याम्पस’ नामक नयाँ सम्बन्धन प्राप्त एफिलिएटेड क्याम्पस सञ्चालनमा आयो। यो शिक्षा क्षेत्रमा मैले गरेको एउटा महत्वपूर्ण र ऐतिहासिक कार्य हो।”

कृषिको उत्पादकत्व बढाउन कलैया र जीतपुर सिमराका ९ विभिन्न स्थानमा जडान गरिएका सिँचाइ डिप बोरिङ र ग्रामीण भेगका जनताको स्वास्थ्य पहुँचका लागि फेटा गाउँपालिकालाई हस्तान्तरण गरिएका दुई थान एम्बुलेन्सले आम नागरिकलाई निकै सहज भएको उनले घरदैलोको क्रममा बताएका छन्।

पूर्वाधार विकासतर्फ ‘संघीय सांसद रणनीतिक सडक योजना’ अन्तर्गत कलैया-रामपुरदेखि खम्वासम्मको कालोपत्रे सडक र खम्वामा निर्माण भएको पुल सम्बन्धि जानकारी दिँदै यादवले कलैया-८ खपरताँतामा निर्माणाधीन सुविधासम्पन्न फन पार्कले यस क्षेत्रको पर्यटनमा नयाँ आयाम थपेको बताएका छ्न्। बारा-३ को धेरै जसो वडा घरधुरीलाई निःशुल्क विद्युतीय चुलो वितरण गरिएको कार्यलाई उनले आधुनिक र वातावरणमैत्री भान्साको सुरुवातका रूपमा चित्रण गरेका छन् ।

२०७४ को निर्वाचनमा भारी मतले विजयी र २०७९ मा झिनो मतान्तरले दोस्रो स्थानमा रहेका यादव यसपटक पनि चुनावी मैदानमा रहेका छन्। विकासका कामहरू बीचैमा रोकिँदा जनताले सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले अधुरा काम सम्पन्न गरी बारा-३ लाई समृद्ध बनाउन आफूलाई मतदान गर्न सम्पूर्ण मतदातासँग अपिल गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर