कलैया,०१ फागुन । वीरगञ्जको आदर्शनगरस्थित एक अवैध गोदाममा छापा मार्न गएको सुरक्षा टोलीमाथि आक्रमण गर्ने ६ जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
गत सोमबार मदन गुप्ताको गोदाममा भन्सार छलीका सामान बरामद गर्न पुगेका सशस्त्र प्रहरीमाथि स्थानीय व्यापारीहरूको एक समूहले आक्रमण गरेको थियो। उक्त झडपमा परी ३ जना सशस्त्र प्रहरी घाइते हुनुका साथै प्रहरीका दुईवटा सवारीसाधनमा समेत क्षति पुगेको थियो।
पक्राउ पर्नेहरूमा वीरगञ्ज–१० का प्रमोदकुमार कानु र कुञ्जन सर्राफ, वीरगञ्ज–१ का दिपराज सहनी मलाह, विन्दवासिनी–५ का श्रीचन्द्रप्रसाद साह र भारतीय नागरिकहरू प्रभु महतो तथा पृतमकुमार चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। सुरक्षा टोलीले उक्त गोदामबाट करिब १२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।





