कलैया,१९ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बारा जिल्लामा तयारी तीव्र पारिएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा खटिएका कर्मचारीहरूले सोमबार निर्वाचन सामग्री बुझेर आ–आफ्ना मतदानस्थलमा पुगिसकेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र, मतपेटिका, सुरक्षण सिल, स्वस्तिक छापलगायत आवश्यक सामग्री बुझेर कर्मचारी तथा सुरक्षाकर्मीहरू मतदान केन्द्रमा पुगेका हुन्। जिल्लाभर रहेका ३०५ मतदान स्थलअन्तर्गत ५८७ मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको जनाइएको छ।
निर्वाचन प्रयोजनका लागि आवश्यक मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध गराइएको छ भने अन्य निर्वाचन सामग्री मतदान अधिकृतहरूलाई हस्तान्तरण गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी राजकुमार दहालका अनुसार कर्मचारीहरू मतदानस्थलमा पुगेर सूचना टाँस गर्ने, मतदानस्थल वरपर राखिएका राजनीतिक दल तथा उम्मेदवारका प्रचार सामग्री हटाउन लगाउने, निर्वाचन आचारसंहिताको अनुगमन गर्ने लगायत तयारीका काम गरिरहेका छन्।
जिल्लामा निर्वाचन सम्पन्न गराउन ५८७ मतदान अधिकृत, ५८७ सहायक मतदान अधिकृतसहित कुल ३ हजार ५ सय २२ जना कर्मचारी परिचालन गरिएको छ। साथै बारा–३ स्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको अस्थायी मतदान स्थलमा ६ जना कर्मचारी खटाइएको छ।
बारा जिल्लाका चार निर्वाचन क्षेत्रमा ४७ स्वतन्त्र उम्मेदवारसहित कुल ११० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। जिल्लामा कुल ४ लाख ६५ हजार ७ सय ८४ मतदाता रहेका छन्, जसमा २ लाख १० हजार ९ महिला, २ लाख ५५ हजार ७ सय ६३ पुरुष र १२ जना अन्य मतदाता रहेका छन्।





