कलैया, २५ फागुन । देशमा जारी आम निर्वाचनको मतपरिणामले सेयर बजारमा ठूलो उत्साह ल्याएको छ । सोमबार कारोबार सुरु भएको केही समयमै नेप्से परिसूचकमा ५ प्रतिशतको वृद्धि देखिएपछि दोस्रो ‘सर्किट ब्रेक’ लागेर कारोबार स्थगित भएको छ ।
बजार खुलेलगत्तै नेप्सेमा चार प्रतिशतको वृद्धि देखिएपछि पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको बजारमा थप १ प्रतिशत अर्थात् समग्रमा ५ प्रतिशतले वृद्धि भएपछि नेप्सेले दोस्रो पटक ब्रेक लगाएको हो । यो वृद्धिसँगै नेप्से परिसूचक २८४८ अङ्कमा पुगेको छ भने बजारमा १३५ अङ्कको बढोत्तरी देखिएको छ । सो समयसम्म करिब २८ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
देशभर जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ बहुमत नजिक पुगेको प्रारम्भिक परिणाम सार्वजनिक भएसँगै लगानीकर्ताहरूमा सकारात्मक आशा पलाएको विश्लेषण गरिएको छ । राजनीतिक स्थिरता र नयाँ नेतृत्वको आगमन हुने विश्वासका कारण बजारमा खरिद चाप बढेको हो । दोस्रो सर्किट ब्रेकपछि अब ४० मिनेटका लागि कारोबार पूर्ण रूपमा बन्द गरिएको छ ।
अब तेस्रो, यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको छ ।



