कलैया, १ चैत । लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०३–००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र.२–०३–०१५प ३३९६ नम्बरको मोटरसाइकललाई शनिबार साँझ करिब ७ः३५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिएका छन्।
दुर्घटनामा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका-१ छप्कैया हाल लालबन्दी नगरपालिका–१ नवलपुरमा बस्दै आएका ३५ वर्षीय सुनिल महतो गम्भीर घाइते भएका थिए ।प्रहरीले तत्काल एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको थियो।
उपचारकै क्रममा शनिबार राति करिब ९ः०० बजे उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिएका छन्।
दुर्घटनामा संलग्न बस र बस चालक तुलसीपुर नगरपालिका–९ निवासी ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





