कलैया,२ वैशाख । सुनसरी प्रहरीले सुनसरी बराहक्षेत्र नगरपालिका–६ बाट ठूलो परिणामा लागुऔषध गाँजासहित पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा २० वर्षीय विशेष माझी र १८ वर्षीय रोशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिएका छन् ।
उनका अनुसार सप्तकोशी नदीमा लागुऔषध गाँजा ओसारपसार भइरहेको भनी गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले २२५ केजी गाजासहित दुवै जनालाई नियन्त्रणमा लिएको छ ।
बाँसको झाकलाई भङगालो छेउमा चेकजाँच गर्ने क्रममा झाक मुनिको भागमा लुकाइछिपाइ राखेको अवस्थामा नौ वटा प्लाष्टिकको बोरामा २२५ किलो गाँजा र को ३० प ९४७५ नम्बर मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक थेबेले जानकारी दिए ।उनका अनुसार दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।





