बारा, १ जेठ । लामो समयदेखि मुआब्जा तथा जग्गा विवादका कारण अवरुद्ध रहेको हेटौँडा–ढल्केवर–दुहवी ४०० केभी प्रसारण लाइन निर्माण कार्य पुनः तीव्र रूपमा अघि बढाइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलपछि प्रभावित स्थानीय, जनप्रतिनिधि तथा सरोकारवालासँग निरन्तर छलफल र समन्वय गरिएकाले आयोजना निर्माणले गति लिएको हो।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हेटौँडाको हटिया क्षेत्रमा रोकिएको टावर निर्माण कार्य अहिले पुनः सुरु भएको छ। स्थानीयले मुआब्जा स्वीकार गरेपछि निर्माण कार्य सहज बनेको प्राधिकरणले जनाएको छ।
सन् २०१२ देखि सुरु गरिएको २८८ किलोमिटर लामो प्रसारण लाइन आयोजनामध्ये १५४ किलोमिटर लामो ढल्केवर–इनरुवा खण्ड तीन वर्षअघि नै सञ्चालनमा आइसकेको थियो। तर, १३४ किलोमिटर लामो हेटौँडा–ढल्केवर खण्ड भने विवादका कारण वर्षौंदेखि प्रभावित बनेको थियो।
प्राधिकरणका अनुसार हेटौँडा क्षेत्रमा निर्माण गर्नुपर्ने १४ वटा टावरमध्ये हाल तीन वटा निर्माण सम्पन्न भइसकेका छन् भने दुई वटाको टावर ठड्याउने कार्य जारी छ। सबै टावरको जग निर्माण सम्पन्न भइसकेको र बाँकी संरचनाको काम अन्तिम चरणमा पुगेको जनाइएको छ।
नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले टावर निर्माणसँगै मुआब्जा तथा क्षतिपूर्ति वितरण प्रक्रिया पनि समानान्तर रूपमा अघि बढाइएको जानकारी दिएका छन् । उनले कानुनअनुसार प्रभावितलाई उचित क्षतिपूर्ति उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्राधिकरणले चालु आर्थिक वर्षभित्र प्रसारण लाइन सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। समयमै आयोजना सम्पन्न हुन नसके वर्षायाममा उत्पादन हुने करिब ८०० मेगावाट विद्युत् खेर जाने जोखिम रहेको प्राधिकरणको भनाइ छ।
आयोजना सम्पन्न भएपछि देशको आन्तरिक विद्युत् आपूर्ति प्रणाली थप सुदृढ हुनुका साथै राष्ट्रिय ग्रिडको विश्वसनीयता बढ्ने र छिमेकी मुलुकसँग विद्युत् व्यापार विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।



