बारा, १ जेठ । त्रिभुवन राजपथअन्तर्गत बाराको तीन नम्बर पुल क्षेत्रमा वर्षौंदेखि सञ्चालन हुँदै आएको बजार हटाइएको छ। डिभिजन वन कार्यालय बाराले पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको सहयोगमा शुक्रबार डोजर चलाएर सडक आसपासका घरटहरा तथा व्यवसायिक संरचना हटाएको हो।
वन कार्यालयले संरचना वन तथा निकुञ्ज क्षेत्रभित्र परेकाले हटाउनुपरेको जनाएको छ। कार्यालय प्रमुख सुजित कुमार झाले पटक-पटक सूचना दिँदा पनि अतिक्रमण नहटाइएकाले डोजर प्रयोग गरिएको बताए।
तर स्थानीय व्यवसायीहरूले भने पर्याप्त समय र वैकल्पिक व्यवस्था बिना डोजर चलाइएको भन्दै विरोध जनाएका छन्। स्थानीय अगुवा अनिल पाख्रिन ले दशकौँदेखि व्यवसाय गर्दै आएका परिवारहरू विस्थापित भएको बताए।
तीन नम्बर पुल क्षेत्र यात्रुहरूको प्रमुख विश्रामस्थलका रूपमा परिचित थियो, जहाँ करिब ७० भन्दा बढी होटल तथा साना व्यवसाय सञ्चालनमा रहेका थिए। बजार हटाइएपछि दैनिक आम्दानीमा निर्भर स्थानीय परिवारहरू समस्यामा परेका छन्।



