बारा, १० जेठ । सशस्त्र प्रहरी बल नेपालको “सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत बारा जिल्लामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। बाराको विश्रामपुर गाउँपालिका–३ मुसहर्वास्थित बर्थिङ सेन्टरमा आयोजित उक्त शिविर सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराको आयोजनामा सञ्चालन गरिएको हो।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई गाउँघरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित यस शिविरमा स्पर्श मल्टिस्पेशलिटी हस्पिटल प्रा.लि. वीरगञ्ज तथा विश्रामपुर गाउँपालिका बाराले सहकार्य गरेका थिए। विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फाक अलि भुटोको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, स्वास्थ्य शाखा प्रमुख अलि अखबर हुसेन र स्पर्श मल्टिस्पेशलिटी हस्पिटलका डा. महेश्वर प्रसाद लगायतको उपस्थिति रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक बिक्रम मनि अधिकारीले जानकारी दिए।
शिविरमा स्पर्श मल्टिस्पेशलिटी हस्पिटलका चिकित्सकहरू डा. महेश्वर प्रसाद, डा. अक्लाखुर रहमान, डा. रुपेन्द्र मिश्रासहित स्वास्थ्यकर्मी सन्तोष कुमार तथा अशोक राजको टोलीले सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्नुका साथै विशेषज्ञ परामर्श सेवा प्रदान गरेको थियो।
शिविरमा स्वास्थ्य जाँच गराउन स्थानीय सीमाबासीहरूको उत्साहजनक सहभागिता रहेको थियो। जसअन्तर्गत १४६ जना महिला तथा १०५ जना पुरुष गरी कुल २५१ जनाले नि:शुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएको नायब उपरीक्षक बिक्रम मनि अधिकारीले जानकारी दिएका छन्। यस कार्यक्रमले आर्थिक र भौगोलिक रूपमा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सीमावर्ती क्षेत्रका नागरिकहरूलाई प्रत्यक्ष राहत पुर्याएको छ।



