बारा,३१ जेठ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ भगिरथ लाइनस्थित वीरगञ्ज–पथलैया सडकखण्डमा स्कुटर दुर्घटना हुँदा दुई किशोरी घाइते भएका छन्। आज दिउँसो जितपुरबाट सिमरातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०३९ प २६८६ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक जितपुरसिमरा उपमहानगरपालिका–१७ रामनगर निवासी बासुदेव मोक्तानकी १६ वर्षीया छोरी सुप्रिया मोक्तान गम्भीर घाइते भएकी छन्। उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
त्यसैगरी स्कुटरको पछाडि सवार सोही स्थान निवासी तिलकबहादुर रुम्बाकी १६ वर्षीया छोरी सुप्रिया रुम्बा पनि घाइते भएकी छन्। उनको अनुहार, बायाँ हात तथा दुवै खुट्टामा चोट लागेको तथा अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुवै घाइतेको एलएस न्युरो अस्पताल, परवानीपुर बारामा उपचार भइरहेको छ। दुर्घटनाग्रस्त स्कुटर इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। उक्त दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


