कलैया, ११ असार। कलैया उपमहानगरपालिकाले नगरसभाको १७औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। नगर उपप्रमुख रौशन परविनले कुल १ अर्ब ६७ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गर्नुभएको हो।
प्रस्तुत बजेटअनुसार आगामी आर्थिक वर्ष २०८३/०८४ मा विभिन्न स्रोतबाट प्राप्त हुने रकमका आधारमा व्ययको अनुमान गरिएको छ। नेपाल सरकार समानीकरण अनुदानतर्फ ४९ करोड ३६ लाख ३० हजार रुपैयाँ, सशर्त अनुदान (चालु) तर्फ ५९ करोड ७९ लाख रुपैयाँ, तथा सशर्त अनुदान (पूँजीगत) तर्फ ४ करोड ७७ लाख रुपैयाँ व्यय हुने अनुमान गरिएको छ।
त्यसैगरी, नेपाल सरकार समपूरक अनुदानतर्फ १ करोड ८४ लाख रुपैयाँ र विशेष अनुदानतर्फ १ करोड ६७ लाख रुपैयाँ छुट्याइएको छ। प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान ८० लाख रुपैयाँ तथा विशेष अनुदान २० लाख रुपैयाँ व्यय हुने अनुमान गरिएको छ।
बजेटमा दायित्व भुक्तानीका लागि १५ करोड रुपैयाँ, नगरस्तरीय कार्यक्रमका लागि ६ करोड २२ लाख रुपैयाँ तथा वडा स्तरीय कार्यक्रमका लागि २७ करोड रुपैयाँ विनियोजन गरिएको छ। यी सबै शीर्षक समेट्दा कुल १ अर्ब ६७ करोड ६३ लाख ३० हजार रुपैयाँ व्यय हुने अनुमान गरिएको छ।
यसअघि आर्थिक वर्ष २०८२/०८३ का लागि उपमहानगरपालिकाले १ अर्ब ७२ करोड ७३ लाख ८७ हजार ७३९ रुपैयाँको बजेट ल्याएको थियो। यसपटकको बजेट अघिल्लो वर्षको तुलनामा केही घटेको देखिएको छ।
प्रस्तुत बजेट तथा कार्यक्रमले स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको उपप्रमुख परविनले जानकारी दिनुभयो। सभाको अध्यक्षता नगर प्रमुख बिनोद साहले गर्नुभएको थियो।



