बारा, २९ असार। बारा जिल्लामा यस वर्ष हालसम्म ३० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र बाराका अनुसार हालसम्म जिल्लाको १३ हजार ५३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ।
कृषि ज्ञान केन्द्र बाराका सूचना अधिकारी तथा कृषि अर्थ विज्ञ गणेश महराका अनुसार गत वर्ष यही अवधिसम्म जिल्लामा ४० प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। त्यसको तुलनामा यस वर्ष हालसम्मको रोपाइँ १० प्रतिशतले कम रहेको उनले बताए।
उनका अनुसार केही समय पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको थियो। तर, विगत केही दिनदेखि लगातार मध्यमदेखि भारी वर्षा भइरहेकाले अहिले जिल्लाभरका किसान धमाधम धान रोपाइँमा जुटेका छन्।
लगातारको वर्षासँगै खेतमा पर्याप्त पानी जमेकाले रोपाइँले गति लिएको र आगामी केही दिनमै धान रोपाइँको प्रतिशत उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको सूचना अधिकारी महराले बताए।
कृषि ज्ञान केन्द्रले मौसम अनुकूल रहेमा बाँकी क्षेत्रफलमा पनि छिट्टै धान रोपाइँ सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।



