कलैया,०३ भदौ । पूर्व कृषि तथा पशुपन्छी विकासमन्त्री एवं बारा–३ की निवर्तमान प्रतिनिधिसभा सदस्य ज्वाला कुमारी साहले बाराको कलैया उपमहानगरपालिका–७ बरेवा बैरियास्थित श्री दुर्गा माध्यमिक विद्यालयमा आठ कोठे भवनको शिलान्यास गरेकी छन्।
बुधबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा पूर्वमन्त्री साहले रु १ करोड ५० लाखको लागतमा निर्माण हुने भवनको शिलान्यास गरेकी हुन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अवधेशप्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साह प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै साहले आफू सांसद हुँदा दुर्गा माध्यमिक विद्यालयका लागि रु १ करोड ५० लाख र कलैयास्थित सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयका लागि रु १ करोड ५० लाख गरी कुल रु ३ करोड बजेट विनियोजन गराउन पहल गरेको बताइन्।
उनले विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर अभिवृद्धिलाई आफूले प्राथमिकतामा राखेको बताउँदै विद्यालयलाई गुणस्तरीय तथा प्राविधिक शिक्षामा अघि बढाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
साहले आफू निर्वाचनमा विजयी वा पराजित भए पनि जनतासँगै रहेर अधुरा विकास निर्माणका कामलाई अघि बढाउन पहल गर्ने बताइन्। उनले भनिन्, “मेरो शरीरमा एक थोपा रगत रहेसम्म जनताको साथमा रहनेछु।”
कार्यक्रममा कलैया उपमहानगरपालिका–७ का वडाध्यक्ष सैफुल्लाह मन्सुर, वडा नं. १३ का पूर्ववडाध्यक्ष राजन पटेल, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कडेल, शिक्षा शाखा प्रमुख राजीव कुमार यादव,विद्यालयका प्रधानाध्यापक मनोज यादव,प्रादेशिक अस्पताल कलैयाका व्यवस्थापन समिति अध्यक्ष जवाहिर अन्सारीलगायत शिक्षक तथा कर्मचारीको उपस्थिति थियो।




