बारा, ०५ भदौ । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादित घिउ पहिलोपटक औपचारिक रूपमा दुबई निर्यात गर्न सुरू गरेको छ।
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा बसोबास गर्ने नेपाली तथा स्थानीय उपभोक्तालाई लक्षित गरी पहिलो चरणमा ६ सय किलो घिउ जहाजमार्फत पठाइएको छ।
घिउ निर्यातका लागि डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनल सँग सम्झौता गरेको हो। परीक्षणका रूपमा पठाइएको यो घिउ त्यहाँका बिक्रेताहरूलाई बिक्रीका लागि उपलब्ध गराइने र बजारको माग तथा प्रतिक्रिया हेरेर थप परिमाणमा निर्यात बढाउने योजना रहेको संस्थानका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले जानकारी दिनुभएको छ।
सुरुआती चरणमा प्रचारप्रसारका लागि हवाई मार्ग प्रयोग गरिए पनि आगामी दिनमा भारत हुँदै समुद्री कन्टेनरमार्फत ठूलो परिमाणमा घिउ पठाउने तयारी गरिएको छ। साथै, दुबईमा बजार स्थापित भएपछि मध्यपूर्वका अन्य देशहरूमा पनि डीडीसीको घिउसहित अन्य दुग्धजन्य उत्पादनहरू छिट्टै बिक्री तथा विस्तार गर्ने लक्ष्य राखिएको छ।




